Above Article Ad
  • लागू औषध दुर्व्यसनी नियन्त्रणमा सामूहिक प्रयास जरुरी

    Above Article Content Ad
  • कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास, बेलौरी एवम् लालझाडी लागू औषध अवैध कारोबारको ट्रान्जिट हुँदै आएको छ । प्रत्येक दिन किशोर तथा युवाहरू लागु औषध सेवन तथा ओसार पसार जस्तो जघन्य अपराधमा प्रहरी द्वारा समातिएको खबर सञ्चार माध्यमबाट आइरहेको हुन्छन् । यसरी हरेक दिन युवाहरू समातिने र ५/७ वर्षका लागि जेल जाने अवस्था रोकिएन भने भोलिको समाज कस्तो बन्ला ? यसको बारेमा समयमै सचेत भई समाधान खोज्नु पर्दछ ।

    लागु औषधको सुरुवात कहीँ न कहीँ मदिरा तथा सुर्ती जन्य पदार्थको उपभोग बढ्दै जाँदा हुने हो । मदिरा तथा सुर्तीजन्य पदार्थको कुलत चरममा पुग्दै जाँदा लागु औषध दुर्व्यसनमा परिणत हुने प्रबल सम्भावना हुन्छ । हाम्रो समाजमा मदिरा समुदायको संस्कार सङ्ग पनि जोडिएको छ । तथापि त्यही मदिराले निम्त्याएको आर्थिक, सामाजिक, शैक्षिक पछौटेपन, अपराध तथा घरेलु हिंसा जस्ता समस्यालाई पनि मनन गर्न जरुरी छ । समय परिवर्तन भएको छ । त्यसैले संस्कार र जीवन जिउने पद्धतिलाई परिमार्जन र परिवर्तन पनि गर्दै लानु पनि पर्दछ । जब सम्म समाजमा रहेका हामी सबै सचेत र जागरूक हुँदैनौँ तब सम्म परिवर्तन सम्भव छैन । मिलेर समाज रूपान्तरणमा लाग्ने बेला आएको छ ।

    Article inline ad #1
  • नेपालको सन्दर्भमा लागु पदार्थ भनेको मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । त्यस्ता लागू पदार्थहरूलाई दुई भागमा विभाजन गरिएको छ ।

    Article inline ad #2

    १- प्राकृतिक लागु पदार्थ– प्राकृतिक रुपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तै– गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ ।

    २- औषधि जन्य लागु पदार्थ– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरीत नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तै:– नाइट्रोजन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।

    यस्ता पदार्थहरू विशेष गरी साथीको दबाबमा परेर, मनोरञ्जनका लागि, उत्सुकता भएर, खुसी हुन, मानसिक तनाव कम गर्न, पारिवारिक समस्या तथा प्रेममा असफल भएको पीडा भुलाउन, डिप्रेसन कम गर्न, पढाइमा समस्यालाई भुल्न यस्ता विविध कारणलाई माध्यम बनाई मानसिक रुपमा आफूलाई बलियो बनाउन नसक्ने किशोर तथा युवाहरू यसको लतमा फसेको छन् । जसका कारण युवाहरू एच.आई.भि.एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू सङ्क्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभर डोज भएर मृत्यु समेत हुने जस्ता उच्च जोखिममा छन्, भने एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सृजना, आत्महत्या गर्न प्रेरित हुने जस्ता मानसिक समस्याबाट उत्तिकै पनि पीडित हुनु परेको छ । व्यक्ति मात्र नभई पारिवारिक असमझदारी बढ्ने, दुरी बढ्ने, चोरी गर्ने, झैँ झगडा गर्ने, सम्पत्ति घट्दै जाने, अनैतिक कार्यमा संलग्न हुने जस्ता विविध समस्याको कारण पारिवारिक तथा सामाजिक अवस्था नै समाप्त भएको छ ।

    तसर्थ लागू औषध नियन्त्रण पहिलो र दिगो समाधान मदिरा तथा सुर्तीजन्य गतिविधिमा नियन्त्रण र नियमनबाट सुरु हुन्छ । प्रशासन कार्यालय तथा पालिकाले नीति तथा कार्यक्रममा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सार्वजनिक स्थलमा सेवनमा रोक लगाउने घोषणा गर्नु पर्दछ । र मदिरा, सुर्तीजन्य एवम् लागू औषध दुर्व्यसन रोकथाम र नियन्त्रण तथा दुर्व्यसनीको सामाजिक पुनर्स्थापनाको लागि आवश्यक ऐन, नीति, निर्देशिका तयार पार्नु पर्छ । मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्ने नयाँ लाइसेन्स दिन दर्ता गर्न बन्द गर्नु पर्छ । तोकिएको मापदण्ड पुरा नगरेका बिक्रेताको व्यवसाय दर्ता खारेजी गर्ने । होटेल, रेष्टुरेन्टमा पनि एक निश्चित स्थानमा मात्रै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने स्थानको प्रबन्ध गर्ने लगाउने । बाल बालिकालाई बिक्री गर्न नपाइने, सार्वजनिक स्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनु पर्ने जस्ता नीति लागु गरी, त्यसलाई पूर्ण रूपले कार्यान्वयन गर्ने, नियमित नियमन गर्ने जस्ता कार्य गरी यसको कारोवार एवम् सेवनलाई निरुत्साहित गर्दै लाने रणनीति अवलम्बन गर्न सकिन्छ ।

    लागू औषधको कारोबार तथा दुर्व्यसनबाट प्रत्यक्ष प्रभावित भइरहेका पालिका जस्तै पुनर्वास, धनगढी, बेलौरी एवम् बेलडाँडीले सहकार्य गरी सामूहिक प्रयास गरेमा यो अभियान थप सहज र प्रभावकारी हुनेछ । त्यसै गरी सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सीमा सुरक्षा बल, सञ्चार माध्यम, विद्यालय, बाल क्लब, युवा क्लब, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय औषधी बिक्रेता, अभिभावक आदि जस्ता प्रत्यक्ष सरोकारवालाले लागु औषध रोकथाम तथा नियन्त्रणमा बनाउनु पर्ने नीति, तथा कार्यक्रमहरू सामूहिक संवाद र छलफलको माध्यमबाट तय गरी आफूले निर्वाह गर्नु पर्ने भूमिकाहरूलाई परिभाषित गर्न सकिन्छ ।

    राजनीतिक दलको काम बन्द गर्ने, हडताल गर्ने, चक्का जाम गर्ने जस्ता परम्परागत शैलीलाई परिवर्तन गरी समाजमा महत्वको बिषयमा नपरेका साना साना सवाल जसले आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ, त्यस्ता सवाललाई राजनीतिक दलले टिप्न सक्नु पर्दछ । समाधान गर्न लाग्नु पर्छ । समस्या माथि टिप्पणी गर्ने मात्र हैन, समाधान दिन पनि सक्षम छ भन्ने देश र समाजलाई सन्देश दिनु पर्दछ । मदिरा, सुर्तीजन्य बस्तु तथा लागु औषध दुर्व्यसनलाई नियन्त्रण गर्ने अभियानमा सामुहिक ऐक्यबद्धता निर्माण गर्ने वातावरण बनाउने प्रशस्त सम्भावना राजनीतिक दलसँग छ । दलले नागरिकको हितमा यसको बहुआयमिक उपभोग गर्नु पर्दछ । राजनीतिकको शैली परिवर्तन गर्ने बेला आएको छ । त्यसको सुरुवात हामीबाटै गरौँ । परिवर्तन हाम्रै पालामा सम्भव छ ।

    लेखक राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगर समितिको सभापति हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6