Above Article Ad
  • बिरामीको चाप बढ्दै, सेती अस्पतालको डायलायसिस सेवामा पूर्वाधार अभाव

    Above Article Content Ad
  • धनगढी- मिर्गौलाको डायलायसिसका लागि नयाँ आउने बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता कायमै छ।

    नियमित डायलायसिस गराइरहेका बिरामीको संख्या बढ्दै जाँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलायसिस सेवामा चाप थपिएको छ। बिरामीले सहज रूपमा पालो नपाउँदा सरकारले थप मेसिन, जनशक्ति र आवश्यक पूर्वाधारको व्यवस्था गर्न विशेष पहल गर्नुपर्ने माग गरेका छन्।

    Article inline ad #1
  • सुदूरपश्चिमकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा हाल २१ बेडबाट डायलायसिस सेवा सञ्चालन भइरहेको छ। अस्पतालका अनुसार नियमित रूपमा २ सय ५ जना बिरामीले डायलायसिस सेवा लिइरहेका छन्। नयाँ आउने करिब १५ देखि २० जना बिरामीले भने सेवा पाउन पालो कुर्नुपर्ने अवस्था छ

    Article inline ad #2

    डायलायसिस कक्षबाट बिहान ५ बजेदेखि राति १० बजेसम्म तीन सिफ्टमा सेवा दिइँदै आएको छ। आकस्मिक अवस्थाका बिरामीलाई भने २४ सै घण्टा सेवा उपलब्ध गराइँदै आएको डायलायसिस फाँटका इन्चार्ज शेरबहादुर महतराले जानकारी दिए।

    एक बिरामीलाई डायलायसिस गर्न करिब चार घण्टा लाग्ने भएकाले सीमित बेड र बढ्दो बिरामी संख्याबीच सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेको फाँटले जनाएको छ। बिहानदेखि रातिसम्म दैनिक करिब ६० जनाले डायलायसिस सेवा पाउँदै आएका छन्। डायलायसिस गराइरहेका बिरामीले नियमित रूपमा हप्तामा दुई पटक अस्पताल आउनुपर्ने भएकाले नयाँ बिरामी थपिँदै जाँदा सेवामा थप दबाब पर्ने गरेको छ।

    अस्पतालले २०७९ साल असारदेखि आफ्नै व्यवस्थापनमा डायलायसिस सेवा विस्तार गरेको हो। त्यसयता विपन्नतर्फ दर्ता भएका ७ सय ४० जनाले सेवा लिइसकेका छन्। तीमध्ये हरेक वर्ष करिब १ सय १० देखि १ सय २० जना बिरामीले सेवा छोड्ने गरेको तथ्यांक छ। फाँटका इन्चार्ज महतराका अनुसार केही बिरामीको मृत्यु हुने र केही उपचारका लागि भारततर्फ जाने गरेका कारण नियमित सेवाग्राहीको संख्या घट्ने गरेको हो।

    हाल डायलायसिस सेवामा सेरोपोजेटिभ, हेपाटाइटिस तथा एचआईभी संक्रमित बिरामीलाई समेत सेवा दिइँदै आएको छ। विभिन्न स्वास्थ्य अवस्था भएका बिरामीलाई एउटै सेवामार्फत व्यवस्थापन गर्नुपर्ने भएकाले पनि पर्याप्त जनशक्ति, उपकरण र छुट्टै भौतिक संरचनाको आवश्यकता देखिएको अस्पतालको भनाइ छ।

    यसअघि बिरामीको चाप अत्यधिक बढेपछि अस्पतालले नयाँ नियमित बिरामीका लागि डायलायसिस सेवा अस्थायी रूपमा रोक्नुपरेको थियो। आवश्यक उपकरण, दक्ष जनशक्ति र भौतिक संरचनाको अभावका कारण यस्तो अवस्था आएको अस्पतालले जनाएको थियो। आकस्मिक अवस्थाका बिरामीलाई भने सेवा निरन्तर राखिएको थियो।

    डायलायसिसका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बिरामी सेती अस्पताल पुग्ने गरेका छन्। प्रदेशकै प्रमुख सरकारी रेफरल अस्पताल भएकाले यहाँ मिर्गौला रोगीको चाप बढ्दै गएको फाँटका इन्चार्ज महतराले बताए।
    ‘सेतीमा प्रदेशभरिका बिरामी आउने भएकाले सीमित स्रोतसाधनबाट सेवा व्यवस्थापन गर्न चुनौती भइरहेको छ,’ महतराले भने, ‘थप मेसिनसँगै दक्ष जनशक्ति र पर्याप्त ठाउँको व्यवस्था आवश्यक छ।’

    सरकारले डायलायसिसका लागि बेड थप गरे पनि त्यसअनुसार भौतिक संरचना पर्याप्त नहुँदा समस्या रहेको अस्पतालको भनाइ छ। सेवा विस्तारका लागि थप मेसिन मात्रै नभई दक्ष स्वास्थ्यकर्मी र पर्याप्त ठाउँ आवश्यक रहेको महतराले बताए।
    बिरामीको चाप व्यवस्थापन गर्न सेवा सञ्चालनको समयसमेत लम्ब्याउनुपर्ने अवस्था छ। बिहानदेखि रातिसम्म तीन सिफ्टमा सेवा सञ्चालन गर्दा स्वास्थ्यकर्मीमाथि पनि कार्यबोझ बढ्ने गरेको छ।

    सुदूरपश्चिमका अन्य सरकारी अस्पतालमा समेत डायलायसिस सेवा विस्तार गर्न सके सेती अस्पतालमा रहेको चाप कम गर्न सकिने फाँटका इन्चार्ज महतराको भनाइ छ। प्रदेशका विभिन्न जिल्लाबाट सामान्य उपचारका लागि समेत सेती पुग्ने बिरामीको संख्या ठूलो रहेकाले डायलायसिस सेवा पनि विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ।

    मिर्गौला रोगीका लागि डायलायसिस जीवनरक्षक उपचार भएकाले सेवा विस्तारसँगै नियमित र सहज पहुँच सुनिश्चित गर्नु चुनौती बनेको छ। थप डायलायसिस मेसिन, दक्ष जनशक्ति र पर्याप्त भौतिक संरचनाको व्यवस्था गर्न सके नयाँ बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने देखिन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6