Above Article Ad
  • पुनर्वासमा बिद्यालय नजिक ‘दुर्व्यसनको अखडा’ बनेको आरोपमा क्याफे सञ्चालक पक्राउ

    Above Article Content Ad
  • पुनर्वास – पुनर्वास नगरपालिका–स्थित आईबीआरडी बजारमा विद्यालय नजिक सञ्चालनमा रहेको एक क्याफेमा किशोर–किशोरी जम्मा भई धूम्रपान तथा लागुऔषधजन्य गतिविधिमा संलग्न हुने गरेको आरोपमा प्रहरीले क्याफे सञ्चालकलाई पक्राउ गरेको छ।
    इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार विद्यालय पोसाकमै रहेका किशोर–किशोरी क्याफेमा जम्मा हुने र चुरोट तथा गाँजा सेवन गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि सञ्चालकलाई पटक–पटक सचेत गराइएको थियो।

    प्रहरीका अनुसार चेतावनी दिँदासमेत क्याफे मध्यरातसम्म सञ्चालन गर्ने तथा युवाहरूलाई अनावश्यक रूपमा जम्मा हुन नदिन दिइएको निर्देशन र आग्रहको बेवास्ता गरेको आरोपमा युनिक क्याफेका सञ्चालक बहादुर सिंह धामी (बिमल) लाई नियन्त्रणमा लिइएको हो।

    Article inline ad #1
  • प्रहरी निरीक्षक कार्कीले प्रहरीको काम, कर्तव्य र निर्देशनप्रति विवाद तथा अवहेलना गरेको आरोपमा धामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

    Article inline ad #2

    क्याफेबाट नियन्त्रणमा लिइएका अन्य व्यक्तिलाई सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ। सञ्चालक धामीविरुद्ध भने युवापुस्तालाई दुर्व्यसनतर्फ प्रोत्साहित गरेको आरोपमा सार्वजनिक शान्ति–सुरक्षासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण र नियमन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ कार्यान्वयनमा छ। उक्त कानुनले १८ वर्ष नपुगेका बालबालिका तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न निषेध गरेको छ। त्यस्तै, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह तथा अनाथालयको कम्तीमा १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको छ।

    कानुनअनुसार सरकारी निकाय, शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला तथा सार्वजनिक पार्कलगायत सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नसमेत निषेध गरिएको छ।

    विद्यालय तथा सार्वजनिक स्थल आसपास यस्ता गतिविधि हुन नदिन प्रहरीले अभिभावक, विद्यालय, स्थानीय समुदाय तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ। किशोर–किशोरीलाई दुर्व्यसनबाट जोगाउन समयमै निगरानी, सचेतना र आवश्यक कानुनी पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

    प्रहरीले घटनासम्बन्धी आरोप, पक्राउ तथा कानुनी प्रक्रियाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    नाम नखुलाउने शर्तमा नजिकैको स्थानीय बासिन्दाका अनुसार उक्त क्याफेमा लामो समयदेखि किशोर–किशोरीको जमघट हुने गरेको थियो। क्याफेबाट धुवाँको मुस्लो निस्कने तथा युवाहरूबीच कहिलेकाहीँ विवाद र झगडा हुने गरेको उनीहरूको दाबी छ। स्थानीयले क्याफे सञ्चालकलाई त्यस्ता गतिविधि रोक्न आग्रह गर्दा पनि बेवास्ता गरेको आरोप लगाएका छन्।

    विद्यालय आसपास हुने यस्ता गतिविधिले किशोर–किशोरीलाई दुर्व्यसनतर्फ आकर्षित गर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। प्रहरीले गरेको कारबाहीले विद्यालय तथा सार्वजनिक स्थल आसपास हुने गैरकानुनी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने उनीहरूको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6