डेढ महिनापछि पक्राउ परे पुनर्वासकी लक्ष्मी घर्तीको हत्यारा
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-३,आई.बी.आर.डी. स्थित घ-गाउँ जाने सडक खण्डमा मृत फेला परेकी लक्ष्मी घर्तीको हत्यारा सार्वजनिक गरेको छ ।
साउन ३० गते बिहान घर नजिकै सडकको बीच भागमा मृत फेला परेकी २७ वर्षीय लक्ष्मी घर्तीको हत्यामा संलग्न पाँच जना मध्ये चार जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरले पत्रकार सम्मेलन मार्फत मंगलबार सार्वजनिक गरेको हो ।
डेढ महिनाको लामो प्रहरी अनुसन्धान पछि घटनामा संलग्न बेलौरी नगरपालिका-१, बस्ने २७ वर्षीय सरोज राना,१९ वर्षीय राहुल राना,लालझाडी गाउँपालिका-१, नौरङ्गा बस्ने ३३ वर्षिय सेनराज राना,३३ वर्षिय पर्शु राना पक्राउ परे भने सोही ठाउँका ३० वर्षिय राजकुमार राना भने फरार रहेको पत्रकार सम्मेलनमा एसपी कमल थापाले जानकारी दिए ।
अनुसन्धानलाई उदृत गर्दै एसपी थापाले नौरङ्गामा ‘जंगली हात्ती रेखदेख गर्नका लागि बनाईएको मचानमा मदिरा सेवन गरेर उनीहरुविच विवाद भएको देखिन्छ, त्यसपछी आपसी विवादकै कारण ति युवकहरुले महिलालाई माथिबाट खसालिदिएको बताए ।
एसपी थापाका अनुसार लक्ष्मी र बेलौरी नगरपालिका १ सरोज रानासंग सम्बन्ध रहेको बताए । उनीहरुविच चिनजानकै सम्बन्धमा आधारमा सोही दिन लालझाडी जंगलमा मचान हेर्नका लागि गएको र त्यहाँ मदिराले विवाद हुँदा युवाहरुले तेस्रो तलाबाट खसाएर घाईते बनाएको बताए । घाईते भएकी लक्ष्मीको उपचारको साटो घरनजिकै ल्याएर फ्याकेपछि लक्ष्मीको मृत्यु भएको अनुसन्धानबाट खुलेको बताए ।
१४ असोजमा पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरि अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान अघि बढाईएको छ । लक्ष्मीमाथि सामुहिक बलात्कार भएको आशंका गरिए पनि तर प्रहरीले उक्त विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।
घटनाको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्ट नेतृत्वले अनुसन्धान गरेको थियो ।
हत्यारा सार्वजनिकसंगै एक महिनाको सुरुवाती अवधीमा प्रहरी निरीक्षक भट्टले थुप्रै अपराधीक क्रियाकलापमा संलग्नलाई कार्वाही गर्न सफल भएका छन् ।
२९ साउन साँझ ५ः३० बजेतिर लक्ष्मी घरदेखि पुनर्वास नगरपालिका-५, ग-गाउँ मामा घर जान्छु भन्दै हिडेकी थिईन । मामा घर हिडेकी लक्ष्मी भोलीपल्टै मृत फेला परेकी थिईन । उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन ।भने उनको एक ५ वर्षको छोरा समेत छ ।