घाँटीमा खुकुरी तेर्साएर लुटपाट गर्ने गिरोह प्रहरीको नियन्त्रणमा
पुनर्वास । कञ्चनपुरको पुनर्वासमा घाँटीमा खुकुरी तेर्साएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार बिहान साढे चार बजेतिर पुनर्वास नगरपालिका–२ मा पर्ने हुलाकी सडक खण्डको फरक फरक स्थानबाट घाटीमा खुकुरी तेर्साएर लुटपाट गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको हो ।
आफूले उत्पादन गरेको तरकारी बिक्रीका लागि धनगढी लैजाँदै गरेका बेलौरी नगरपालिका–३,पडाउका धम्मल चौधरी सहित केही व्यक्तिहरू लुटिएका थिए । शुक्रवार बिहानै लुटिएपछि दिउँसो नै चार जनाले जाहेरी दर्ता गराएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । घटनाको विषयमा अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी. मा शुक्रवार लुटपाट गर्नेहरूको हुलिया सहित निवेदन परेपछि प्रहरीले उनीहरूको खोजीमा आफ्नो सक्रियता बढाएपछि तीन जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३ का २३ वर्षीय विजयी गिरी, सोही ठाउँका २५ वर्षीय माने तामाङ र पुनर्वास नगरपालिका–६ का २१ वर्षीय राजीव कोइराला रहेका छन् । पक्राउ परेका तीन जनाको अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।
उनका अनुसार घटनामा प्रयोग भएको आशङ्कामा दुई मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पुनर्वासको निकै चहलपहल भइरहने हुलाकी सडक खण्डमै एकाबिहानै यसरी लुटपाट हुँदा पुनर्वासमा सुरक्षा कमजोर भन्दै गएको भन्दै स्थानीय त्रसित बनेका थिए ।
यो पनि पढ्नुस् :
पुनर्वासमा घाटीमा खुकुरी तेर्साएर लुटपाट, गिरोह खोज्न प्रहरीलाई सकस