
नवनियुक्त प्रधानमन्त्री कार्कीले निर्मला पन्तलाई दिलाउलिन त न्याय
धनगढी-सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते १३ वर्षीया निर्मला पन्त बलात्कारपछि हत्या भएको घटनाले देशलाई नै हल्लाएको आज सात वर्ष नाघिसकेको छ। तर, अझैसम्म दोषी कानुनी दायरामा आउन सकेका छैनन्। यही पृष्ठभूमिमा पूर्व प्रधानन्यायाधीश एवं नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसमक्ष निर्मलालाई न्याय दिलाउने चुनौती प्राथमिकताका रूपमा देखिएको छ।
निर्मलाको घटनापछि पटक–पटक सरकारी अनुसन्धान टोली, प्रहरी कार्यदल र उच्चस्तरीय समिति बने । तर प्रमाण संकलनमा गम्भीर त्रुटि, राजनीतिक हस्तक्षेप र सुरक्षाकर्मीको लापरबाहीका कारण अनुसन्धान निरन्तर विवादित रह्यो। घटनामा संलग्न हुनेहरूमाथि कानुनी कारबाही त परै जाओस्, वास्तविक दोषी पहिचानमै असफल भएको भन्दै सरकार र सुरक्षाअंगमाथि निरन्तर प्रश्न उठ्दै आएको छ।
निर्मलाको आमासहित परिवार अझै न्यायको पर्खाइमा छन्। प्रत्येक स्मृति दिवसमा आमा दुर्गा पन्त आँसु झार्दै भन्छिन्, “मेरो छोरीलाई न्याय दिने कोही छैन र ? सरकार बदलिन्छ, नेताहरू आउँछन्–जान्छन् तर न्याय भने आउँदैन।”
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की पूर्वप्रधानन्यायाधीश भएकी नाताले न्यायप्रति कठोर र निष्पक्ष छविवाली नेतृका रूपमा परिचित छिन्। कुनै बेला उनले आफूले सञ्चारमाध्यममा सरकारले नै निर्मलालाई न्याय नदिलाएको आरोप लगाउने गर्थिन्। अहिले भने उनी आफैं सरकार प्रमुख बनिसकेकी छन्।
त्यसैले अहिले सर्वसाधारणभित्र आशा पलाएको छ कि उहाँको नेतृत्वमा सरकारले निर्मला प्रकरणलाई प्राथमिकतामा राख्नेछ।
विश्लेषकहरूको भनाइमा, कार्कीको नेतृत्वले यदि निर्मलाको न्याय प्रक्रियालाई टुंग्याउन सके, यसले न केवल राज्य प्रणालीमाथि विश्वास बढाउनेछ, बरु आफ्नो प्रधानमन्त्रीकालकै ऐतिहासिक उपलब्धि बन्न सक्नेछ।
निर्मला पन्तलाई न्याय दिलाउन असफल भइरहेका अघिल्ला सरकारहरूका बीच सुशिला कार्कीले के नयाँ इतिहास रच्न सक्लिन् त ? देशभर अहिले यही प्रश्नले नागरिक चेतनामा ठाउँ बनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष पूरा भइसकेको छ। १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन्।
पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो। तर, निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भने पत्ता लगाउन भने प्रहरी असफल छ।
साभार फरक प्रेसबाट















