Above Article Ad
  • चैत महिना शुरु भएसँगै दार्चुला बैतडीसहित सुदूरपश्चिमभरि भेटौलो पर्व शुरु

    Above Article Content Ad
  • मान सिंह धामी :

    लाग्यो इजु चैतको मैना, दादा काँछ मेरो !!
    रुँनिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो !!
    काफलकि करौउँ दानी, हुन लागे लाल !!
    फर्किफर्कि आइग्यो इजु, एमास यै साल !!
    सोराइले हेर्दोछु मुइत, दाइको आउन्या बाटो !!
    इतिछाँटो बिरानो भयो, मेरै जनम्या माटो !!

    Article inline ad #1
  • परम्परागत कथन अनुसार भारतको कुमाऊँमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भेटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको हो । भेटौलोमा माइतीले मीठो खानेकुरा (सेलरोटी, पुरी, लाउन, पिन्जरी), मिठाई लगायत लुगाकपडा छोरीबहिनीको घरमा पु–याउने चलन रहेको छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको छ ।

    Article inline ad #2

    पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको हो ।

    भेटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, खजुरा, गुड, मिश्री, फलफूल र क्षमता अनुसार लुगा र गहनासमेत दिने चलन रहेको छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलनले निरन्तरता पाएको देखिन्छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।
    चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइएको छ ।

    चैत महिना लागेसँगै दिदीबहिनीहरू दाजुभाइको बाटो हेरेर बसेका हुन्थे । तर अहिले सञ्चारको जमाना भएकोले भेटौलो कहिले आउने, को आउने, गाउँमा जुठो परेको, सबै ठिकठाक नै भएको सबै कुराको जानकारी हुने गरेको छ । पुस्तौंदेखि चलेको यो भेटौलो परम्परालाई निरन्तरता दिनु पर्दछ । परम्पराको जगेर्ना गर्ने हो भने हामीले बजारको महङ्गो मिठाई, फलफूल भन्दा अर्गानिक घरैमा इजाले पकाएको सेलरोटी, हलुवा, खीर, माणा, खजुरा, मालपुवा, पिन्जरी आदि पथ्य र पौष्टिक खानाका परिकार लगेर भेटौलो गर्नु पर्दछ । यदि यस्ता खानाका परिकार पकाउने फुर्सद छैन भने उक्त परिकार पकाउन चाहिने पिठो (गहुँ र चामल), तेल, गुड, दाउन आदि सामग्री लगेर भेट्नु पर्दछ भन्ने पङृत्तिकारको मान्यता रहेको छ ।

    दिदीबहिनी, फूपू, छोरीलाई भेटेपछि कोसेली लगेको झोला रित्तो पठाउदैनन् । खानाका परिकार तथा गुड, खुदो, मह, घ्यु आदि दिने वा पठाउने चलन रहेको छ । तर आधुनिकताले अहिले धेरै जसोले बाध्यता सम्झन्छन् र बजारबाट स्याउ, केरा लगायतका फलफूलले भेटौलो टुङ्याउने गर्दछन । कामको चटारो, हतारोले गर्दा एकछाक खानापनि नखाएर मुख देखाएर जाने गरेको पनि देखिन्छ । तर भेटौलो पर्वलाई परम्परागत र संस्कारयुक्त बनाऔं, हामी पनि संस्कारी बनौं । भेटौलो गएपछि बास बस्न नसकिए पनि एकछाक खाएरै आउनु पर्दछ ।
    चैैतको भेटौलो भने पनि सुदूरपश्चिमका केही जिल्ला डोटी, अछाम, डडेल्धुरा लगायतका जिल्लामा माघ महिनामा भेटौलो पर्व मनाइन्छ ।

    मान सिंह धामी (भौनबाटी)
    उप–प्राध्यापक
    कैैलाली बहुमुखी क्याम्पस, धनगढी
    स्थायी ठेगाना : माालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गोठ्युडी (कोटबुङ्गा)
    दार्चुला

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by