
बेलौरी नगरपालिकासँगको ३ बुँदे सहमति पछि बोहराले तोडे अनसन
बेलौरी -बेलौरी नगरपालिकामा विभिन्न मागहरू राख्दै आमरण अनसनमा बस्नुभएका बेलौरी नगरपालिका वडा नं. ६ निवासी केशव कुमार बोहरा र बेलौरी नगरपालिका कार्यालयबीच आज मिति २०८२ साल माघ २३ गते ३ बुँदे सहमति भएको छ।
सहमति भएपछि बोहराले आफ्नो आमरण अनसन अन्त्य गर्नुभएको छ।
नगरपालिका कार्यालयमा भएको छलफलपछि भएको सहमति अनुसार पहिलो बुँदामा बजार अनुगमन तथा व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने उल्लेख छ। बेलौरी बजार क्षेत्रमा हुने कालोबजारी, नापतौलमा हुने ठगी तथा म्याद गुज्रेका अखाद्य वस्तुको बिक्री–वितरणलाई नियन्त्रण गर्न नगरपालिकाको नेतृत्वमा नियमित तथा आकस्मिक बजार अनुगमन गरिने सहमति भएको छ। साथै दोषी पाइएका व्यवसायीलाई प्रचलित कानुनअनुसार तत्काल कारबाही गर्ने उल्लेख गरिएको छ।
दोस्रो बुँदामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाइने सहमति भएको छ। १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री–वितरण गर्ने कार्यलाई नगरपालिकाभित्र पूर्ण रूपमा निषेध गरिनेछ। यसका लागि सार्वजनिक सूचना जारी गर्ने, व्यवसायीहरूलाई सचेत गराउने तथा नियम उल्लंघन गर्नेहरूको हकमा अनुमति पत्र खारेजीसम्मको प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।
तेस्रो बुँदामा अनसनकर्ताले उठाएका मागहरूलाई नगरपालिकाले तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएपछि केशव कुमार बोहराले आजकै मितिबाट आफ्नो सम्पूर्ण अनसन कार्यक्रम फिर्ता लिँदै अनसन तोड्ने सहमति जनाउनुभएको छ। अन्य बाँकी विषयहरू निर्वाचन सम्पन्न पश्चात सम्बन्धित पक्षहरूसँग छलफल गरी समाधानतर्फ उन्मुख हुने सहमतिसमेत भएको छ।
सहमति पत्रमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी र अनसनकर्ताका तर्फबाट केशव कुमार बोहराले हस्ताक्षर गर्नुभएको छ।















