
ईन्स्पेक्टर बमबहादुर बोगटी पहिलो पटक गाउँ फर्किएपछि गाउँमा भव्य स्वागत
पुनर्वास ।संघर्षले थिचे पनि सपना मर्न दिनु हुँदैन भन्ने प्रेरणादायी उदाहरण बनेका छन् कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का प्रहरी निरीक्षक बमबहादुर बोगटी।
स्वर्गीय आमा गौरी देवी बोगटी र स्वर्गीय बुवा खडकबहादुर बोगटीका दोस्रो सन्तानका रूपमा २०४८ चैत १३ गते जन्मिएका बमबहादुर दुई दाजुभाइ र एक बहिनीमध्येका हुन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ को एक सामान्य पारिवारिक परिवेशमा हुर्किएका उनले बाल्यकालदेखि कै मेहनत, अनुशासन र लगनशीलताबाट जीवनको आधार बनाए।
उनको शैक्षिक यात्रा आफ्नै गाउँको श्री गौरीशंकर माध्यमिक विद्यालयबाट सुरु भयो। विद्यालयमा अध्ययनरत रहँदा उनी कक्षामा पहिलो स्थान हासिल गर्ने मेहनती विद्यार्थीका रूपमा परिचित थिए। उनले २०६४ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरे।
एसएलसी उत्तीर्ण गरेपछि बोगटी उच्च शिक्षाका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस पुगे। त्यहाँ उनले आईएस्सी अध्ययन सुरु गरे। तर, जीवन सधैँ आफूले सोचेअनुसार अगाडि बढ्दैन।
२०६६ सालमा आईएस्सी अध्ययन गरिरहेकै बेला उनले आमालाई गुमाउनुपर्यो। जीवनको सबैभन्दा ठूलो सहारा मानिने आमाको निधनले उनको जीवनमा गहिरो पीडा थप्यो। आमाको माया र साथबाट वञ्चित भएपछि उनले बुवाको सहारामा आफ्नो जीवनको यात्रा अघि बढाए।
महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सी अध्ययन गरेका उनले कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसबाट भौतिकशास्त्र (फिजिक्स) विषयमा बीएस्सी पूरा गरे। त्यसपछि डोटीको सिलगढीस्थित डोटी बहुमुखी क्याम्पसबाट समाजशास्त्र विषयमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गरे।
विद्यालय जीवनमा देखिएको उनको लगनशीलता भविष्यमा प्राप्त हुने सफलताको प्रारम्भिक संकेत थियो।
अध्ययनमा अब्बल रहेका बोगटीले गाउँको परिवेशबाट बाहिर निस्केर उच्च शिक्षा हासिल गर्ने र आफ्नो भविष्य निर्माण गर्ने सपना बोकेका थिए।
सामान्य परिवारमा जन्मिएर गाउँकै विद्यालयमा अध्ययन गरेका बोगटीले आफ्नो मेहनत र लगनशीलताका बलमा प्रहरी सेवामा उल्लेखनीय सफलता हासिल गरेका छन्। २०७२ साउन १ गते पहिलो प्रयासमै नेपाल प्रहरीको सहायक निरीक्षक पदमा प्रवेश गरेका उनले २०८२ वैशाख १४ गते आफुलाई प्रहरी निरीक्षकको यात्रामा पुर्याए ।
सफलतामा उक्लि रहेपनी तर, नियतिले उनलाई अर्को ठूलो चोट पनि दियो। २०७८ सालमा बुवाको समेत निधन भएपछि उनले आमाबुवाको साथ गुमाए।
अत्यन्तै पिडाका बीच पनि उनले रोजगारीसंगै अध्ययनलाई पनि निरन्तरता दिदै गए । त्यसैका कारण आज सफलतामा पुगे ।
प्रहरी निरीक्षक बोगटीको दरबन्दी सुर्खेतस्थित इलाका प्रहरी कार्यालय लेकबेसीमा भएपनि नेपाल प्रहरी संगठनले उनलाई काज दरबन्दीमा जिल्ला प्रहरी कार्यालय चितवनमा खटाएको छ।
प्रहरी निरीक्षक बनेपछि १६ महिने तालिम सम्पन्न गरी शुक्रबार पहिलोपटक आफ्नो गाउँ फर्किएका बमबहादुर बोगटीलाई वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले भव्य स्वागत गरे। उनको सफलताप्रति खुसी व्यक्त गर्दै गाउँलेहरूले सम्मान र बधाई अर्पण गरेका थिए।
गाउँकै विद्यालयमा अध्ययन गरेर प्रहरी निरीक्षकजस्तो जिम्मेवार पदमा पुग्नु स्थानीय समुदायका लागि गर्वको विषय थियो। उनको प्रगतीले सिङ्गो गाउँका युवा देखि वृद्धवृद्धाहरुमा खुशीयालीको उत्सव थियो।
जिम्मेवारीपूर्ण पेसामा रहेर पनि उनले आफ्नो शैक्षिक यात्रालाई भने रोकेका छैनन् । हाल उनी कानुन विषयमा एलएलबी अध्ययनरत छन्।
विज्ञान, समाजशास्त्र र कानुनजस्ता फरक शैक्षिक क्षेत्रप्रतिको उनको रुचिले ज्ञानको दायरा अझै फराकिलो बनाउनेछ ।
उनको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन, यो त आफ्नो लक्ष्य पूरा गर्न संघर्ष गरिरहेका प्रहरी निरीक्षक बमबहादुर जस्ता लाखौं युवाहरूका लागि प्रेरणाको एउटा सुन्दर कथा पनि हो।















