
फ्रिज चोरेर भाग्दा रातभर गेटमा अड्किए चोर, घाइते अवस्थामा प्रहरीद्वारा उद्धार
घटना हिजो रातिको हो ।
चोरी गर्न खोज्ने व्यक्ति सुनसरीको दुहबी बस्दै आएका विकास झा हुन् । सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’ को कार्यालय भवन राति खाली अवस्थामा थियो । चोर कतिबजे भित्र छिरे भन्ने थाहा भएको छैन ।
झाले घरभित्रबाट एक्लै फ्रिज बोकेर गेटसम्म ल्याएका थिए । फ्रिजलाई गेट माथिबाट कटाएर भाग्ने क्रममा उनको लुगा फलामे किलामा अड्कियो । उनी गेटबाट ओर्लन नसकेर रातभरी त्यही अवस्थामा अलपत्र परे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविद कटुवाल उज्यालो भएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेको बताए । राति कति बजेदेखि उनी गेटमा फसेका हुन् भन्ने नखुलेको उनको भनाइ छ ।
‘बिहान उज्यालो भएपछि बाटो हिँड्नेले देखेर प्रहरीलाई खबर गरे र प्रहरी पुगेर उनको उद्धार गरिएको छ’ उनले भने ।
घाइते अवस्थामा रहेका झा लागू पदार्थको नशामा समेत रहेको प्रहरीले जनाएको छ । हाल उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइने कटुवालले बताए ।















