
पुनर्वासमा ग्लोबल आईएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार पुनर्वास नगरपालिका–६,स्थित जनता माध्यामिक बिधालयका बिधार्थीहरुलाई ग्लोबल आईएमई लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
विश्वव्यापी वित्तीय सप्ताहलाई भव्य रुपमा मनाउने क्रममा मार्च २० देखी मार्च २६ सम्म यूवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत वित्तीय सप्ताहको चौथो दिन पुनर्वास शाखाले पनि सञ्चालन गरेको शाखा प्रमुख तपेन्द्र वहादुर थापाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा संस्थाका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रमुख बसन्त सुवेदीले प्रशिक्षण दिनुभएको थियो । उहाँले बिधार्थीहरु माझ युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा सञ्चालित विश्वव्यापी वित्तीय सप्ताह केन्द्रित रहँदै सहभागी विद्यार्थीहरुलाई बचत, कर्जा, पारिवारिक बजेट, बीमा, बिप्रेषण, डिजिटल बैंकिङ्ग लगायत विषयमा प्रकाश पार्नुभएको थियो ।
कक्षा ११ र १२ मा अध्ययनरत करिब १ सय ८० जना विद्यार्थी बीच अन्र्तक्रियात्मक वित्तीय साक्षरता कार्यक्रमलाई सहजीकरण वित्तीय संस्था आई.बी.आर.डी.का प्रमुख तपेन्द्र वहादुर थापाले गर्नुभएको थियो ।
विजयपुर २६, पोखरा केन्द्रिय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र वैंक बाट “घ” वर्गको वित्तीय कारोबार गर्न ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । वित्तीय संस्थाले देशभर १ सय २० शाखा कार्यालय मार्फत करिब १ लाख ५० हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।