पुनर्वासमा जग्गा नापजाँच प्रक्रिया सुरु, ८ हजार बढिले पाउनेछन लालपुर्जा
पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिकामा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको छ ।
मंगलबार पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको हो ।
पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले निर्वाचित पछि निरन्तर सुकुम्बासी समस्या समाधानका लागि लाग्दा लाग्दै १० महिना पार भएको सुनाउनुभयो ।
“लालपुर्जा दिन पहल गरे राष्ट्रिय आवास कम्पनीले हामीलाई मुद्दा हाल्ने कुरा समेत गरेको छ । तर म मुद्धासँग डराउने छैन ।” उहाँले भन्नुभयो, “मैले मात्रै हैन ,सुकुम्बासी समस्या समाधानका विषयमा सबै राजनीतिक दलका उम्मेदवारहरुले चुनावी एजेन्डा बनाएकै हुन् ।”
राष्ट्रिय आवास कम्पनीले कालिका र बाईसेबिचुवालाई वितरण गर्न मिल्ने अहिले नमिल्ने भन्ने हुँदैन । तपाईहरु नडराउनुस , यतिबेला चुनौती र अवसर दुबै छ ।हामीलाई साथ दिनुस, सम्भव छ । नभए म एक्लैले केहि गर्न नसक्ने उहाँले बताउनुभयो ।
त्यस्तै भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले अहिलेको चरणमा संस्थालाई नभई व्यक्तिलाई मात्रै जमिन दिन मिल्ने बताउनुभयो ।
भुमिहिन दलित र भुमिहिन सुकुम्बासी भनि भरिएका ५० प्रतिशत फारम रद्द हुने अवस्थामा रहेको र २०७६ माघ २८ सम्म आवादी गरेको १० वर्ष पुरा भएकोलाई मात्रै जग्गा उपलब्ध गराउने उहाँको भनाई छ ।
८ देखि २ सय प्रतिशत सम्म राजश्व लाग्ने र तिन वर्ष सम्म तीन किस्तामा उपलब्ध गराउने अघिल्लो भुमि आयोगका अध्यक्षले निर्णय गरेको भएपनि अहिले राजश्व कम गराउने विषयमा माईन्यूट भएको तर मन्त्रीमण्डल गठन नहुँदा निर्णय नआएको जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा पूर्व मेयर जिवनराज थापाले अहिलेको गठबन्धन सरकार यथावत हुँदा सुकुम्बासी समस्या समाधान हुन सक्ने सम्भावना बढि रहेको बताउनुभयो ।
आफु २०७४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा सुकुम्वासी समस्या समाधान स्थानीय सरकारले गर्न सक्ने ऐनमा उल्लेख भएपनि पछि ऐन परिवर्तन हुँदा संघिय सरकार अन्तर्गत तोकिएका कारण स्थानीय सरकारलाई अधिकार नहुदा र सरकार स्थिर नहुदा सुकुम्बासी समस्या समाधान हुन नसकेका धारण व्यक्त गर्नुभएको थियो ।
सो नगरपालिका भरीमै ८ हजार बढि फारम भरिएको नगरपालिकाका योजना अधिकृत तथा फोकल पर्शन शंकर बोगटीले जानकारी दिनुभयो ।
हल पुनर्वास नगरपालिकामा राष्ट्रिय आवास कम्पनीको नाममा १सय २७ बिघा जमिन पुर्जा भएको र ७ सय १९ बिघा जमिन फिल्ड बुकमा रहेको छ ।