
धनगढीमा पेस्तोलसहित विभिन्न सामग्री बरामद एक युवक पक्राउ
धनगढी – कैलालीको धनगढीबाट कटुवा पेस्तोलसहित विभिन्न सामग्री बरामद गर्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी घर भई हाल धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खानलाई मंगलबार राति पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक बलराम पाण्डेयको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले शंकास्पद गतिविधिका आधारमा खानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको कोठामा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, एक थान खुकुरी, फलामको रड, रेन्च, डिजिटल तौल काटा, चाँदीजस्तो देखिने दुई थान माला, फलामको ‘टी’ तथा दुई थान टर्चलाइट बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बरामद सामग्रीसहित खानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।















