
कञ्चनपुरमा कारागारबाट फरार रहेका पाँच जना पक्राउ
धनगढी-जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लामो समयदेखि फरार रहेका पाँच जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–२ बस्ने नबिन राना रहेका छन्। रानालाई विद्युतीय कारोबार मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएपछि उनी फरार थिए। सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–२ बस्ने केशव सिंह योन्जन, ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय तोकिएका डोटीको जोराईल गाउँपालिका–३ बस्ने रुद्र भुल, कर्तव्य ज्यान मुद्दामा २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१ बस्ने सरोज राना र कर्तव्य ज्यान मुद्दामा २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका–१ बस्ने राहुल राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले कारागार कार्यालय कञ्चनपुरबाट भागी फरार रहेका तथा विभिन्न फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका पाँचै जनालाई मंगलवार पक्राउ गरेको बताए। पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए।














