पुर्व कार्यरत सिनियर अनमी जोशीद्वारा कालिका स्वास्थ्य चौकीलाई नल्का सहयोग
पुनर्वास – लामो समय देखि पुनर्वास नगरपालिका-१, बलभद्रबस्ती स्थित कालिका स्वास्थ्य चौकीमा कार्यरत पुर्व सिनियर अनमी नारायणी जोशीले नल्का सहयोग गरेकी छन् ।
आफु कार्यरत रहेका बेला देखि स्वास्थ्य चौकीमा आउने सेवाग्राहीका लागि वातावरण सुहाउँदो खानेपानीमा देखिएको समस्यालाई सरकार पक्षबाट सुधार नभए हामीले पनि गर्नुपर्छ भन्दै पुर्व कार्यरत सिनियर अनमी जोशीले नल्का सहयोग गरेकी हुन् ।
सो कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत जयबन्धु अर्यालले आफु कार्यरत संस्था प्रति देखाएको सहयोगले अरुलाई पनि सिकाईका रुपमा हुन पुगेको बताए ।
उनले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै संस्था प्रति सहयोग गर्ने भावना बढ्दै जाओस् शुभकामना दिएका थिए ।
त्यसैगरी स्वयंसेविकाको तर्फबाट बोल्दै मीरा चन्दले निकै राम्रो उदाहरणीय कार्य भएको बताएकी छन् । उनले हामी संग संगै काम गर्दा हामीलाई सिकाउनुभएका थुप्रै कुराहरु हामी कहिल्यै बिर्सिन्नौ,हाम्रा लागि अविस्मरणीय पल हुने भन्दै आगामी दिनमा साथ र समर्थन रहने जानकारी दिईन ।
त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहनलाल रानाले स्वास्थ्य क्षेत्रलाई सकेसम्म सबैको सहयोगबाट बढाउदै लैजानुपर्ने भन्दै सिनियर अनमी जोशीलाई धन्यवाद दिएका थिए ।
उनले देखाएको कार्यले ईच्छा शक्ति भए सरकारका बजेटलाई ताक्नुपर्ने अवस्था नआउने कुरालाई पुष्टि गरेको उनको भनाई छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा पुनर्वास १ का वडाध्यक्ष मोहनलाल रानाको सभाध्यक्षमा भएको कार्यक्रमलाई सञ्चालन जनस्वास्थ्य अधिकृत दिवाकर सिंहले गरेका थिए ।