
महाकालीमा गाई गोरु तार्ने क्रममा बेपत्ता जित दमाइको शव फेला
महाकाली नदीमा गाईगोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिकाटोलका ६० वर्षीय जित दमाईको शव फेला परेको छ।
सोमबार बिहान गाईगोरु तार्ने क्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएका दमाईको शव दोधारा चाँदनी नगरपालिका–५ स्थित बाबातलाउ क्षेत्रमा फेला परेको हो।
घटनास्थलबाट करिब १ दशमलव ५ किलोमिटर तल महाकाली नदीमै दमाईको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण हेडक्वार्टर कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए।
उनका अनुसार दमाईको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा १० जनाको टोली रबर बोट तथा विपद् उद्धार सामग्रीसहित परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा १२ जनाको प्रहरी टोलीसमेत खोजीमा खटिएको थियो।
सुरक्षा टोलीले घटनास्थलदेखि महाकाली नदीको दक्षिणतर्फ करिब चार किलोमिटर क्षेत्रसम्म खोजी गरेको थियो। प्रारम्भिक खोजीमा दमाई नभेटिएपछि पुनः रबर बोटसहित खोजी गर्दा उनको शव बाबातलाउ क्षेत्रमा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ















