
पुनर्वास सब स्टेसनका लागि अत्तरियाबाट ३३ केभी लाइन विस्तार गरिने
पुर्नवास । कञ्चनपुरको पुनर्वासमा निर्माणाधीन विद्युत् सब स्टेसनलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएको छ । हुलाकी सडक छेउ भएर पुनर्वास सब स्टेसनका लागि अत्तरियाबाट ३३ केभी लाइन विस्तार गरिने सहमति भएपछि सब स्टेसनलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भएको हो ।
शुक्रवार पुनर्वास नगरपालिकामा नगरका प्रमुख तोय प्रसाद शर्मा, बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशी, वडाध्यक्ष, हुलाकी सडक निर्देशनालयका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिसँग ३३ केभी लाइन विस्तारका बारेमा छलफल भएको हो ।उक्त छलफलमा हुलाकी सडक छेउ भएर पुनर्वास सब स्टेसनका लागि अत्तरियाबाट ३३ केभी लाइन विस्तार गरिने सहमति भएको नगर प्रमुख तोय प्रसाद शर्माले बताए ।
‘पुनर्वास नगरपालिकामा निर्माणाधीन सब स्टेसनलाई छिट्टै सञ्चालन गर्न सम्बन्धित प्रतिनिधिहरुसंग छलफल भयो,’ नगरप्रमुख शर्माले भने,‘यस अघि धनगढी देखि सब स्टेसन सम्म ३३ केभी डबल सर्किट लाइन केही विवाद हुन पुग्यो । विशेष गरी पुर्नवास नगरपालिका १० र ११ मा विवाद पछि काम रोकिएको थियो । शुक्रवार उक्त वडाका वडा अध्यक्षसहित बसेको बैठकले ३३ केभी लाइन सुचारु गर्न दिने सहमति भएको छ । अब निर्माण कार्य समयमै सम्पन्न गर्ने र कार्य सम्पन्न गर्न सबैले सहयोग गर्ने निर्णय भएको छ ।’
पुनर्वासमा गत वर्ष विद्युत् सब स्टेसनको लागि काम सुरु भए पनि हुलाकी सडक छेउमा पोल गाड्दा विरोध भएको थियो । यता बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार पुर्नवास सब स्टेसनकाबाट सो लाइन बेलौरीसम्म पुग्ने सहमति भएको जानकारी दिए ।उनले सो लाइन विस्तार भए विधुतको समस्या समाधान हुने अपेक्षा गरे ।
‘अत्तरिया–धनगढी–पुर्नवास सब स्टेसनबाट ३३ केभी लाइन बेलौरी वितरण केन्द्रसम्मै लग्ने सहमति पनि भएको छ,’ उनले भने, ‘अहिले हामीले जुन समस्या भोगिरहेका छौँ । आशा छ पुनर्वासमा सब स्टेसन निमार्ण पछि विधुतको समस्या केही समाधान होला ।’
थोरै पानी पर्दा,हावाहुरी आउँदा दक्षिणी क्षेत्रमा विद्युत् लाइन अवरुद्ध हुने समस्याका कारण यस क्षेत्रका स्थानीय हैरान बन्ने गरेका छन् । कलुवापुर–बेलौरी सडक खण्ड भएर आउने ३३ केभी लाइन अन्तरगत जङ्गल पर्ने हुँदा विद्युत् लाइन अवरुद्ध हुने गरेको छ । जङ्गलबाट ल्याइएको तारमा रुख ढल्ने, हाँगा लाग्ने लगायत समस्या आउँदा लाइट छिन छिनमा आउने,जाने समस्या थियो । पुनर्वासमै सब स्टेसन सुचारु भएपछि यस क्षेत्रको विद्युतीय सिचाँईको विस्तारसंगै कृषकहरूको आयआर्जनमा समेत सुधार हुने विश्वास छ ।