
काजकिरिया गरिसकेका व्यक्ति जिउँदै घर फर्किए
मृत्यु भएको ठानेर परिवारले काजकिरिया गरिसकेका लेटाङका एक पुरुष करिब ६ महिनापछि अचानक जिउँदै घर फर्किएपछि परिवार, आफन्त र छिमेकी अचम्मित भएका छन्।
सुनसरीको चकरघट्टिमा भएको सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले गत जेठमा धार्मिक विधिअनुसार काजकिरिया गरेको थियो। गत माघदेखि हराएका ती पुरुषको शव दुर्घटनापछि घर ल्याएर चिसाङ खोलामा दाहसंस्कारसमेत गरिएको थियो।
परिवारका अनुसार अनुहार र शारीरिक अवस्था मिल्दोजुल्दो देखिएपछि शव बुझेर सामाजिक तथा धार्मिक परम्पराअनुसार चिसाङ खोलामा अन्त्येष्टि गरिएको थियो। तर, करिब ६ महिनापछि उनी अचानक घर फर्किएका हुन्।
करिब ३७ वर्षीय ती व्यक्ति घर फर्किएपछि परिवारजनले सोमबार राति धार्मिक परम्परा र चलनअनुसार जन्म, न्वारान तथा व्रतबन्धसम्बन्धी कर्मसमेत सम्पन्न गरी उनलाई घरभित्र्याएका छन्।
परिवारको आग्रहमा तत्कालका लागि घर फर्किएका ती व्यक्तिको परिचय गोप्य राखिएको छ। त्यसैले घटनाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।
पारिवारिक स्रोतका अनुसार ती व्यक्तिले घर छाडेदेखि भारतको आसाम क्षेत्रमा रहेको र हाल त्यहीँबाट फर्किएको बताएका छन्।















