
को हुन् नेकपा कञ्चनपुर–१ बाट प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएका तिलक भट्ट ?
बेलौरी–आगामी संघिय निर्वाचनका लागि नेकपा कम्युनिष्टका तर्फबाट ८ जना प्रतिनिधिसँगै राजनितिमा सक्रिय रहेका तिलक भट्टलाई कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट उम्मेदवार सिफारिस गरी संगठनले पार्टी केन्द्रिय कार्यसमितिमा पठाएको छ ।
वि.सं. २०२७ साल जेठ ७ गते कञ्चनपुरको दोधोरा चादँनीको ग्रामिण क्षेत्रमा जन्मनुभएका र २०२८ साल देखि बेलौरी-०३ खिरियामा स्थायी बसोबास गरिरहेका भट्ट नेपाली कम्युनिष्ट आन्दोलनकै समयदेखि निरन्तर सक्रिय व्यक्ति हुन् ।
उनको जन्म सामान्य परिवारमा भएपनि संगठन र समाजमा देखाएको संघर्ष भने असामान्य देखिन्छ । वि.सं. २०४० सालतिर शिक्षक बराल सरको वैचारिक प्रभावबाट कम्युनिष्ट पार्टीमा आवद्ध रहेका भट्ट विद्यार्थी राजनीतिमा प्रवेश गरेलगत्तै २०४४ सालमा सिद्धनाथ विज्ञान क्याम्पसमा अनेरास्ववियु (पाँचौँ) को तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भए ।
तत्कालिन राजनितिक परिवेशमा सदस्यमा निर्वाचित हुनु भट्टका लागि सामान्य भने थिएन । तर त्यहि सफलताले उनलाई राजनितिमा उभ्याउने एउटा मार्ग खुलाएको थियो । राजनिति आफ्नो लागि भन्दा समाज रुपान्तरणको मार्गदर्शन हो भन्ने उद्धेश्य बोकेका नेता भट्ट २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय भूमिकामा उभिएका थिए ।
२०४७ सालपछि भट्टको राजनीतिक यात्रा संगठनात्मक जिम्मेवारीतर्फ उन्मुख भयो । श्रीपुर, लक्ष्मीपुर र शंकरपुर क्षेत्र समेटिएको इलाका संगठन कमिटी सदस्यका रूपमा उनले पार्टी विस्तार र जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गरे । त्यही अवधिमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) लक्ष्मीपुर गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै युवालाई संगठित गर्ने, वैचारिक रूपमा प्रशिक्षित गर्ने र आन्दोलनमा सक्रिय बनाउने काममा उनी केन्द्रित रहे । २०४८ सालको आम निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै उनले पार्टी अभियानमा आफूलाई पूर्ण रूपमा समर्पित गरे ।
यही वर्ष २०४८/०९/०५ गते नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गर्नु उनको राजनीतिक यात्राको औपचारिक र निर्णायक मोड बन्यो । त्यसपछि २०४९ मा लक्ष्मीपुर गाउँ विकास समिति र कञ्चनपुर जिल्ला विकास समितिको निर्वाचन प्रक्रियामा सक्रिय रहँदै स्थानीय तहमा पार्टीको उपस्थिति सुदृढ बनाउन योगदान पुर्याए । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनी उत्तिकै सक्रिय रहे । २०५१ देखि २०६१ सम्म साविक लक्ष्मीपुर गाउँ कमिटीको संस्थापक सचिवका रूपमा काम गर्नु संगठन निर्माणमा उनको महत्वपूर्ण योगदानका रूपमा स्मरणीय छ । यही अवधिमा २०५१ मंसिरमा नेकपा (एमाले) जिल्ला सल्लाहकार सदस्यको जिम्मेवारी पाउनु पार्टीभित्र उनको अनुभव, निरन्तरता र परिपक्वताको औपचारिक मान्यता थियो ।
उनको योगदान पार्टी राजनीतिमा मात्र सीमित रहेन । २०५१–२०६३ सम्म लक्ष्मी माध्यमिक विद्यालय, जवदियाको व्यवस्थापन समिति सदस्यका रूपमा शिक्षा क्षेत्रको सुधारमा उनले भूमिका खेले । २०५३ मा पुष्पलाल स्मृति प्राथमिक विद्यालय, खिरियाको संस्थापक तथा व्यवस्थापन समिति अध्यक्ष बन्नु कम्युनिष्ट आन्दोलनको सामाजिक उत्तरदायित्व व्यवहारमा उतारिएको उदाहरण हो । २०५४ साल उनको राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोड बन्यो । साविक लक्ष्मीपुर गाउँ विकास समितिको उपाध्यक्ष पदमा सर्वाधिक मतसहित निर्वाचित हुनु जनतासँगको भरोसा र स्वीकार्यताको ठोस प्रमाण थियो। यही वर्ष नेपालगञ्जमा सम्पन्न नेकपा (एमाले) को छैटौँ महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिनु पार्टीप्रतिको निष्ठा र संगठनात्मक अनुशासनको परिचायक बन्यो ।
२०५५ मा प्ररायु संघ कञ्चनपुरबाट राष्ट्रिय सम्मेलन प्रतिनिधि, पिपुल्स भोलिन्टियर्स महाकाली निर्देशक तथा २०५६ मा केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित महाकाली अञ्चलस्तरीय प्रशिक्षणमा सहभागिताले उनको वैचारिक र संगठनात्मक क्षमता थप सुदृढ गर्यो । २०५७ देखि २०६५ सम्म निर्वाचन क्षेत्रीय समन्वय कमिटी सदस्यका रूपमा उनले पार्टी–जनसम्पर्क र निर्वाचन व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । तर २०६५ देखि २०७७ सम्मको अवधि उनको राजनीतिक जीवनको सबैभन्दा कठिन चरण रह्यो ।
आन्तरिक पार्टी गुटबन्दी र संरचनागत अवरोधका कारण औपचारिक जिम्मेवारीबाट टाढा रहनुपरे पनि उनले सिद्धान्त, विचार र आन्दोलनप्रतिको निष्ठामा कहिल्यै सम्झौता गरेनन् । जिम्मेवारी नहुँदा पनि आन्दोलनलाई धोका नदिने अडान नै उनको राजनीतिक चरित्रको मूल पहिचान हो । आन्दोलनप्रतिको इमान्दारीको मूल्यांकन एक दिन अवश्य हुनेछ भन्ने विश्वाससहित उनले धैर्यपूर्वक प्रतीक्षा गरे । करिब बाह्र वर्षपछि, २०७८ मा उनी पुनः सक्रिय राजनीतिमा फर्किए ।
२०७८–२०८१ सम्म नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यका रूपमा उनले प्रदेशस्तरीय राजनीतिमा जिम्मेवारी वहन गरे । २०७८ मै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको स्वकीय सचिवको रूपमा कार्य गर्दै नीतिगत र कार्यकारी अनुभव पनि हासिल गरे । उनको राजनीतिक जीवनमा कुनै आकस्मिक अवसर, पदप्राप्तिको आकांक्षा वा क्षणिक लाभको परिणाम थिएन । बरु यो यात्रा निरन्तर संघर्ष, संगठन निर्माण, विचारप्रतिको अडान र जनताप्रतिको उत्तरदायित्वको अभ्यासबाट निर्मित थियो । उनको कम्युनिष्ट चेतनाको प्रारम्भ २०४० सालतिर शिक्षक बराल सरको वैचारिक प्रभावबाट भएको देखिन्छ । त्यसपछि विद्यार्थी राजनीतिमा प्रवेश गर्दै अनेरास्ववियु (पाँचौँ) को तर्फबाट स्ववियु सदस्य निर्वाचित हुनु त्यतिबेलाको राजनीतिक परिवेशमा सामान्य घटना थिएन । पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध सचेत रूपमा उभिएको युवाको त्यो कदम लोकतान्त्रिक चेतनाको स्पष्ट अभिव्यक्ति थियो ।















