
सीमा बजार बसही र सम्पुर्णानगर जाने नेपाली प्रति भारतीय प्रहरीको लुटधन्दा
पुनर्वास–कञ्चनपुरको पुनर्वाससँग सीमा जोडिएको भारतीय बजार बसही र सम्पूर्णानगर जाने नेपालीहरुलाई भारतीय प्रहरीले लामो समय देखि लुट्दै आएको छ ।
बसही बजार र सम्पूर्णानगर जाने नेपालीहरुलाई नियन्त्रणमा लिने र विभिन्न अभियोगमा मुद्धा चलाउने डर त्रास देखाउँदै त्यहाँकै स्थानीय र व्यापारीलाई मध्यस्तकर्ताको भुमिकामा राखी नेपालीबाट भारतीय प्रहरीले लाखौं रुपैँया लुट्ने गरेको तथ्य बाहिरिएको हो ।
भारतीय प्रहरीको लुट्ने प्रवृत्तिको परिबन्धमा आईतबार भारतीय बजार बसही गएका कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का नारायण शर्मा परे ।
उनलाई बसही बजार नजिकैबाट भारतीय प्रहरी चमन र दुस्यन्त कुमारले नियन्त्रणमा लिई डरत्रास देखाई बसहीकै स्थानीय गुड्डु खान नाम गरेका व्यक्तिको माध्यमबाट एक लाख ३० हजार नगद लिएको छ ।
भारतीय प्रहरीले लामो समयदेखि नेपालीहरुलाई नियन्त्रणमा लिने र लाखौं रुपैँया लुट्ने गरेको विषय बाहिर आउन थालेको छ । सोमबार नारायण शर्माले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई लिखित रुपमा जानकारी गराएपछि यसरी लुटिएका थुप्रै व्यक्तिहरु प्रहरी कार्यालय सम्म पुगेका थिए ।
प्रहरीमा पुगेपछि स्थानीयहरुलाई यस्ता घट्नामा पैसा दिनु अघि पहिले हामीलाई जानकारी गराउन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले जानकारी दिए ।
अघिल्लो वर्षको भदौ महिनामा पुनर्वास नगरपालिका–३ बस्ने दुई जना तामाङ थरकी महिलाहरुलाई नियन्त्रणमा लिई लखिमपुर पु¥याउँछौ भन्दै नगद दुई लाख रुपैँया,पुनर्वास–५ कै थापा र सुनारले दुई लाख रुपैँया भारतीय प्रहरीलाई बुझाएर आफु छुटेको बताईन ।
यी घटना त उदाहरण मात्रै हुन् । यस्तै सयौं नेपालीहरुबाट भारतीय प्रहरीले करोडौं रुपैयाँ असुली गरिसकेको सम्पूर्णानगर प्रहरी थानाकै नजिकका एक भारतीय व्यापारीले विश्व खोजसँग बताएका छन् ।
पुनर्वास मात्रै हैन बेलौरी,धनगढी,गुलरीया,देखतभुली लगायतका नेपालीहरुबाट भारतीय प्रहरीले रकम लिई छाड्ने गरेको पुनर्वास–८ का वडाध्यक्ष राना श्रवणले पनि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बताएका थिए ।
भारतीय प्रहरीले नेपालीहरुलाई आरोप लगाएर फसाउन खोज्छ । यसको विषयमा हाम्रा नेपालका निकायहरुले समन्वय गरी समस्याको समाधान गरिदिनुपर्ने वडाध्यक्ष रानाले सुनाए ।
नेपालीहरु प्रति भारतीय प्रहरीले गर्दै आएको यस्तो लुटधन्दाले नेपाल आउने भारतीय नागरिकहरुलाई समेत कार्वाही हुनुपर्ने प्रशासनहरुमा स्थानीयहरुले माग राख्दै आएका छन् ।
भारतीय प्रहरीका यस्ता गतिविधिले सीमाक्षेत्रमा दुई देश बीचका नागरिकहरुमा द्वोन्द हुने संकेत देखिएको छ । त्यसैले सम्बन्धित निकायहरुले भारतीय सुरक्षा निकायसँग समन्वय गरी यस्ता समस्याहरुको समाधान गर्न जरुरी देखिन्छ ।