
सरसफाई कार्यक्रमसँगै मनाइयो विश्व खोज दैनिकको तेस्रो वार्षिकोत्सव
पुनर्वास — मङ्गलबार स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित आइ.बी.आर.डी. बजार क्षेत्रमा सरसफाई गरिएको छ।
हामी स्वयंबाट फोहोरलाई व्यवस्थापन गर्न सके सफा र सुन्दर नगरको परिकल्पना सुरुवात गर्न सकिन्छ भन्ने उद्देश्यले विश्व खोज दैनिक पत्रिकाको तेस्रो वार्षिक उत्सवको अवसरमा आइ.बी.आर.डी. बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो।
पुनर्वास नगरपालिकाको सहकार्य रहेको सो सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, सशस्त्र प्रहरी बल बीओपी पुनर्वास, सशस्त्र प्रहरी बल बीओपी आपताल, अस्थायी प्रहरी पोस्ट आइबीआरडी, कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङको नेतृत्व सहितको टिम, बुद्धिजीवी, शिक्षकहरू, पुनर्वास नगरपालिकाका कर्मचारीहरु बजारका व्यापारीहरू तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सरसफाई कार्यक्रम सम्पन्न भएपछि विश्व खोज दैनिकको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिका-३ का वडाध्यक्ष कृष्णबहादुर तामाङले देश परिवर्तनमा मिडियाको भूमिका धेरै ठूलो हुने भएकाले जहिले पनि मिडियाले सत्य र निष्पक्ष सूचना प्रवाह गर्नुपर्ने बताए ।
विश्व खोजको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नेछ भन्ने विश्वास रहेको सुनाए ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले युवा जमातमा लागू औषध दुर्व्यसनी, चोरी डकैती, हत्या हिंसा जस्ता अपराधिक गतिविधिहरू बढ्दो अवस्थामा रहेकाले यिनीहरूको रोकथाममा पनि मिडियाको भूमिका अग्र स्थानमा रहने बताए ।
विश्व खोज दैनिकको सचेतना कार्यप्रति खुसी व्यक्त गर्दै यस दैनिकको सफलताको शुभकामनासँगै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूमा अग्रसर रहन सुझाव दिए।
यस्तै,पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले विश्व खोज दैनिकलाई सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक उत्तरदायित्वको एउटा उदाहरणीय कार्य गरेको र यस्ता कार्यक्रमलाई सबैले निरन्तरता दिनुपर्ने बताए ।
सरसफाई स्वास्थ्यको महत्वपूर्ण अङ्ग भएको र फोहोरबाट विभिन्न सर्ने रोगहरू फैलन सक्ने हुँदा सरसफाईका विषयमा सबैले सचेत हुनुपर्ने उनको भनाइ थियो ।
बजारको फोहोर व्यवस्थापनका लागि ठाउँ ठाउँमा डस्टबिन हुनुपर्ने बजारबासीको माग प्रति सकारात्मक भई आफूले नगरपालिकामा छलफल गर्ने जनस्वास्थ्य अधिकृत खड्काको प्रतिबद्धता गरे ।
कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङले मिडियाले समाज परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्दै विश्व खोज दैनिकको कार्यक्रम निकै सराहनीय भएको बताए ।
उनले आफ्नो फोहोर आफैंले व्यवस्थापन गर्न सके विभिन्न रोगहरूबाट समेत छुटकारा मिल्ने भन्दै यस पत्रिकाको निरन्तर प्रगतिका शुभकामना व्यक्त गरेका थिए।
वार्षिक उत्सवकै अवसरमा नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागि बैंक खातामार्फत केहि आर्थिक सहयोग गरेको थियो। यस कार्यले पत्रकारितासँगै मानवीय सहानुभूति र सामाजिक दायित्वको भावलाई देखाएको सहभागीहरूले बताए ।
कार्यक्रममा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै सरसफाई मार्फत बजार क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन सबै पक्ष एकजुट हुनुपर्ने भन्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पत्रिकाकी व्यवस्थापक सनम वडले प्रतिबद्धता व्यक्त गरिन ।
स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै तथ्यमा आधारित रही सत्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दै आएको यस पत्रिकाले हाल सात जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत प्रदान गर्दै आएको व्यवस्थापक वडले जानकारी दिइन् ।
२०७९ साल पौष ३ गते सूचना तथा प्रसारण विभागमा दर्ता भई पौष ८ गतेबाट पाठकवर्गमाझ सार्वजनिक भएको विश्व खोज दैनिक हाल पुनर्वास–बेलौरी क्षेत्रलाई कार्यक्षेत्र बनाउँदै दैनिक रूपमा प्रकाशन हुँदै आएको छ।
















