
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच जना घाइते
धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ करिब ७ बजे मोटरसाइकल र स्कुटर ठोक्किएका हुन्। दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएकी बमको मायामेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान २ बजेर २६ मिनेटमा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन्। उनीहरूको अवस्था क्रमशः मध्यम, मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै, स्कुटरमा पछाडि सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि अस्पताल लगिएको थियो। दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l














