बेलौरी प्रहरी प्रमुख भण्डारीको लागुऔषध मिसन : डेढ महिनामा १३ जना पक्राउ
बेलौरी– कञ्चनपुर स्थित ईलाका प्रहरी कार्यालय बेलौरीको प्रमुखको जिम्मेवारी पाएका प्रहरी निरिक्षक दान सिँह भण्डारीको लागु औषध नियन्त्रणमा अग्रणी भुमिका देखिएको छ ।
बेलौरीको प्रहरी प्रमुखको जिम्मेवारी पाएको डेढ महिनामै प्रहरी निरिक्षक भण्डारीले विभिन्न मितिमा ११९.९८ ग्राम ब्राउन सुगर सहित १३ जना लाई नियन्त्रणमा लिई कार्वाही गरेको हो ।
नियन्त्रणमा परेका १३ जना मध्ये एक जना भारतीय नागरिक हुन् । पक्राउ पर्नेहरुमा १७ वर्ष देखि २५ वर्ष उमेर समुहका युवाहरु अधिकाँश रहेको प्रहरी तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट एक वर्षे कार्यकाल पुरा गरी बैशाख १ गते ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक भण्डारीले सो क्षेत्रमा लागुऔषध नियन्त्रणलाई पहिलो मिसन बनाएको बताए ।
उनले एकवर्षे कार्यकाल अवधीमा लागुऔषध पुरै नियन्त्रण गर्न नसकेपनि बेलौरी बासीले सोचभन्दा बढि नियन्त्रण गरेर देखाउने जानकारी दिए ।
“राम्रो कामका लागि आफ्नो पुरै समर्थन रहन्छ, गलत गतिविधिका विरुद्धमा एक कदम पनि झुकिन्न” उनले भने, “समाजलाई असर पु¥याउने व्यक्तिलाई कानुनी कठघेरामा उभ्याउनुपर्छ, यसमा प्रहरी चुक्नु हुँदैन भन्ने मेरो मान्यता हो ।”
छोटो समयमै कञ्चनपुर भरीमै प्रहरी निरिक्षक भण्डारीले पहिलो रेकर्ड बनाएको छ । यस अघि बैलौरीका प्रमुख प्रहरी निरिक्षक कमल कुमार खड्काले पनि सुदुरपश्चिममै रेकर्ड बनाउदै सफलता पुर्वक आफ्नो कार्यकाल पुरा गरेका थिए ।
पुनर्वास–बेलौरीलाई लागुऔषधको ट्रान्जिट पोईन्टको रुपमा मानिएपनि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीसँग विगत डेढ महिना यता लागुऔषधका मुद्धा शुन्य छन् ।