
प्रकाशनको तेस्रो वर्ष पूरा……
प्रकाशकीय
२०७९ पौष ८ गतेबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रलाई लक्षित गर्दै प्रकाशनमा ल्याइएको सुदूरपश्चिम सुनौलो मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित छापा माध्यमअन्तर्गतको विश्व खोज राष्ट्रिय दैनिक पत्रिका तथा अनलाइन मिडियाले आज आफ्नो तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्न सफल भएको छ।
विभिन्न चुनौतीहरूलाई छिचोल्दै निरन्तर प्रगतिपथमा अघि बढिरहेको विश्व खोज राष्ट्रिय दैनिक पत्रिका तथा अनलाइन न्युज ले समाजमा लुकेका अदृश्य विषयदेखि सबैका नजरमा परेका दृश्य विषयवस्तुहरूसमेत उजागर गर्दै सत्यलाई जनसमक्ष छर्लङ्ग पार्ने कार्यमा आफूलाई अग्रसर बनाउँदै आएको छ।
वर्तमान परिवेशमा सामाजिक सञ्जालको व्यापक प्रयोगले अनलाइन मिडियालाई सहज बनाए तापनि छापा मिडियामा यसको नकारात्मक प्रभाव देखिएको छ। डिजिटल युगमा छापा मिडिया सञ्चालन गर्नु फलामको चिउरा चपाउनु सरह चुनौतीपूर्ण बनेको छ। त्यसमाथि कञ्चनपुरको दक्षिणी क्षेत्रजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा मिडिया सञ्चालन गर्नु झनै कठिन मानिन्छ।
सञ्चार क्षेत्रमा आएको परिवर्तनसँगै थुप्रै मिडियाहरू स्थापना भए। केही मिडिया व्यावसायिक रूपमा अघि बढे भने केहीले पत्रकारितालाई कमाइको साधनका रूपमा दुरुपयोग गरेको यथार्थ पनि सबैलाई विदितै छ।
पत्रकारिताको गलत प्रयोगकै कारण देशभरका थुप्रै असल मिडियाहरू आज धराशायी अवस्थामा पुगेका छन्। हाम्रो अभियान भने पत्रकारितालाई जोगाउँदै जनतासम्म सत्य समाचार सम्प्रेषण गर्ने नै हो।
हामीले अनलाइन र छापा मिडियामार्फत दक्षिणी क्षेत्रका पाठकवर्गसम्म सूचना मात्र पुर्याएका छैनौँ, देशमा विद्यमान बेरोजगारी समस्यालाई आत्मसात गर्दै रोजगारी सिर्जनाको थालनी पनि गरेका छौँ। सुरुवातदेखि नै विभिन्न व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएकोमा तेस्रो वर्ष पूरा हुँदा हालसम्म ६ जनालाई प्रत्यक्ष रोजगारीसँग जोड्न सफल भएका छौँ। साथै, छापा मिडियालाई दैनिक रूपमा पाठकसमक्ष पुर्याउँदै निरन्तरता दिइरहेका छौँ।
विगतमा समाजविरोधी थुप्रै गलत गतिविधिहरूको भण्डाफोर हामीले गरेका छौँ। जनप्रतिनिधि, निजामती कर्मचारी तथा निर्माण कम्पनीहरूको गलत व्यवहार र गतिविधिमाथि पनि साहसपूर्वक कलम चलाउने प्रयास गरेका थियौँ। यस क्षेत्रका सीमा समस्या, बढ्दो तस्करी, कृषि क्षेत्रका समस्या, डुबानलगायतका विविध समस्याहरू सम्बन्धित निकायसम्म पुर्याएका छौँ। तीमध्ये केही समस्या समाधान भए भने केही अझै यथावत् छन्। तर हामी थाकेका छैनौँ, हाम्रो कलम रोकिएको छैन। ती समस्याको समाधानका लागि हाम्रो संघर्ष र कलमको धार निरन्तर चलिरहेकै छ।
यद्यपि हामी हाल राष्ट्रियस्तरका ठूला मिडियाहरूसँग पूर्ण रूपमा प्रतिस्पर्धा गर्न नसके पनि, स्थापित मिडियाहरूको स्थान ओगट्ने लक्ष्यसहित आफ्नो संघर्षलाई निरन्तरता दिइरहेका छौँ। कञ्चनपुरको दुर्गम क्षेत्रबाट सुरु भएको हाम्रो यात्राले यही क्षेत्रका समस्या सङ्घीय राजधानीसम्म पुर्याउने उद्देश्य लिएको छ। त्यसैअनुसार काठमाडौँमा शाखा विस्तार गरी सेवा प्रारम्भ गर्ने हाम्रो भावी योजना रहेको जानकारी पनि गराउन चाहन्छौँ।
पत्रकारिता मानिसले सोचेझैँ सहज पेशा होइन। खोजमूलक पत्रकारिता गर्दा वर्तमान अवस्थामा सुरक्षाका चुनौतीहरू पनि प्रशस्त छन्। तैपनि समाजमा विद्यमान विकृति, विसङ्गति, विभेदजस्ता कुरीतिविरुद्ध आवाज बुलन्द गर्न हाम्रो टिम गम्भीरतापूर्वक प्रतिबद्ध छ।
यस तीन वर्षे यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, समाचारदाता, सल्लाहकार टिम तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै, सधैँ सत्यमा अडिग रही तपाईंहरूप्रति हाम्रो विश्वसनीयता अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ।















