परिवर्तनकारी युवा आन्दोलनसँगै गुमेको त्यो रोजगारी

काठमाडौँ- देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक दलको पराकाष्टका विरुद्ध नेपालमा २०८२ भदौ २३ र २४ मा भएको “जेनजी” युवाहरूको परिवर्तनकारी आन्दोलनले देशलाई नयाँ मोडमा पुर्याएको छ ।
युवाहरूले आन्दोलनलाई सशक्त रूपमा लैजाँदै गर्दा दोस्रो दिन केही अराजकताका समुहको घुसपैठले स्थिति तनावग्रस्त बनेको थियो । बालकदेखि थुप्रै युवाहरूले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाले घटनास्थलमै ज्यान गुमाए । प्रहरीको गोली प्रहारपछि थप सशक्त रूपमा जेनजी युवाहरूको आन्दोलन चर्किएपछि आन्दोलनको नाममा केहिले अराजकता देखाई सरकारी कार्यालय देखि निजि ब्यक्तिगत धन सम्पत्तिहरुमा समेत क्षति पुर्याए । हुन त विकासका लागि विनाश आवश्यक हुन्छ भन्छन । त्यही भनाइलाई आत्मसाथ गर्ने हो भने राज्यको परिवर्तनका लागि आन्दोलन आवश्यक थियो । भन्ने जनमानसमा एक किसिमको चर्चा पनि चलिरहेको छ।
त्यही आन्दोलनका कारण आज देशले एउटा कुशल न्यायिक महिलालाई प्रधानमन्त्री पाएको छ । धेरैले यसलाई देशको परिवर्तनको आधारका रूपमा मानिरहेका छन् । नेपालले पहिलोपटक न्यायिक रूपमा अब्बल महिला नेतृत्व पाउनु हामी सबैका लागि गौरवको कुरो हो। हाम्रो चाहना पनि देशका शासकहरू परिवर्तन नै गर्नुपर्छ भन्ने थियो। सम्भवतः आज जेनजी आन्दोलनले त्यो पुरा गरिदिएको छ ।
पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ खुवाएपछि उनले गरेको संसद विघटनले अझै ठूलो देशको मुहार फेरिने आशा पलाएको छ। देशको सत्ताधारीहरु माथिको आक्रमण के थियो त्यो मैले विश्लेषण गर्न सक्दिन । तर निजी व्यावसायिक क्षेत्रका हकमा मेरो विश्लेषण भने केही सत्य बन्न सक्छ। केही ठूला व्यवसायीहरू माथिको आक्रमणले विभिन्न निजि क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुको रोजगारी गुम्ने र समयमै तलब तथा सुबिधाहरु समेत भुक्तानी नहुने सम्भावना बढेको छ । निजि क्षेत्रहरु मध्ये धेरैलाइ रोजगारी दिने कम्पनीहरुमा चौधरी समूह, भाटभटेनी जस्ता निजी व्यवसायीक क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाट जस्ता गतिविधिहरूले हजारौँको यतिबेला रोजगारी पनि गुमेको छ।
नजिकै आइरहेको नेपालीहरुको महान चाड दशैँ, तिहार , छठजस्ता चाडपर्वहरू श्रमजीवीहरूका लागि परिवारसँग रमाउने र खुसी साट्ने समय हुन्थ्यो। तर अहिले नेपालको आन्तरिक अवस्था समेत अस्थिर रहेको र नेपाल भारतका सिमानाकाहरूमा समेत आवत जावत कडाइ गर्दा मजदुरी गरी नेपाल फर्कनेहरु र रोजगारीका लागि भारत जाने हजारौं मानिसहरूलाई पनि प्रभावित बनाएको छ। यी घटनाहरूले बीमा दाबी मार्फत संस्थाहरूले आफ्नो नोक्सानी त उठाउने नै छन। सब भन्दा ठूलो प्रश्न भनेको यो हो कि यस्ता घटनाहरूबाट हजारौँ श्रमजीवीहरू, जसले आफ्नो रोजगारी गुमाए । परिवार जोगाउने एक आधार टुटेको छ। उनीहरूको वर्ष दिनको चाडपर्वलाई खल्लो बनाएको छ ।
यसो भन्दा युवा आन्दोलनलाई नकारात्मक टिप्पणी गरेको भन्न सक्छन् । तर आन्दोलनसँगै भएका उच्छृङ्खल गतिविधिले धेरै व्यक्तिहरूको रोजी रोटी नै खोसिएको छ। उनीहरूका लागि देशको नेतृत्वभन्दा ठूलो आफ्नै मजदुरी थियो । देशभरका व्यवसायमा भएको तहसनहसले आगामी दिनहरुमा छिट्टै उहाँहरुको रोजगारीको सुनिश्चितता हुनेकी नहुने साथै नयाँ रोजगारीहरु सृजना हुने कि नहुने भन्ने थप चुनौती थपिएको पनि छ ।
हामीले यो विर्सनु हुँदैन कि परिर्वतनको आन्दोलनले निर्दोष श्रमिकहरूको दैनिक जीवनलाई थप संकटमा पार्नु हुँदैन। अहिलेको यो अनिश्चित अवस्थामा तिनीहरूको जीवन र चाडपर्वको खुसी सुरक्षित राख्न ध्यान दिनु अत्यावश्यक छ।
जय देश ! जय जनता !
लेखक पन्थी गेटजब नेपालका प्रबन्धक निर्देशक हुन् ।















