पूर्वप्रधानन्यायाधीश कार्की अवकाशको आठ वर्षपछि देशको पहिलो महिला प्रधानमन्त्री

पुनर्वास- सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई देशको नेतृत्व सुम्पिएको छ ।
भदौ २३ र २४ गते देशभर भएको जेनजी युवाहरूको आन्दोलन पछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारबाट नेपालकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो ।
युवाहरूको समर्थनपछि न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई देशको नेतृत्व सम्हाल्ने अवसर मिलेको हो ।
प्रधानमन्त्री कार्कीको विगतलाई हेर्दा विराटनगरमा कानुन व्यवसायबाट सुरुवात गरेको उहाँको यात्रालाई सर्वोच्च अदालतको न्यायाधीश हुँदै देशको बागडोर सम्हाल्ने अवसर सम्म पुर्याएको छ ।
मोरङको शंखरपुरमा २००९ जेठ २५ मा सामान्य किसान परिवारमा जन्मनुभएकी प्रधानमन्त्री कार्की मातापिताका सात सन्तान मध्येमा जेठी हुन् ।
न्यायपरिषद्मा रहेको उहाँको पुरानो अभिलेख अनुसार, उहाँले २०२८ सालमा विराटनगरको महेन्द्र मोरङ कलेजबाट बीए पास र २०३१ सालमा बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो।
युवाहरूले सुरुमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई प्रधानमन्त्रीको नेतृत्व सम्हाल्न आग्रह गरिरहेका थिए । तर शाहले नेतृत्व सम्हाल्न तयार नभएपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नाम अघि सारिएको थियो। पूर्वप्रधानन्यायाधीश कार्कीको नाम आएपछि बालेन शाहले पनि उहाँलाई समर्थन जनाउनुभएको थियो।
राजनीतिक दलहरूका कारण जनतामा देखिएको वितृष्णाले सामाजिक सञ्जाल र भ्रष्टाचार नियन्त्रण लगायतका थुप्रै माग सहित युवाहरूले काठमाडौँको माइतीघर मण्डलाबाट आन्दोलन सुरुवात गरेको थियो। आन्दोलन शान्तिपूर्ण भनिए पनि हिंसात्मक तरिकाले अगाडि बढेपछि नेताहरूलाई कुट्ने देखि घर जलाउने र सरकारी धेरै संरचनाहरूमा समेत आगजनी तोडफोडका गतिविधिहरूसम्म भए । सुरक्षाका लागि खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा दिन नसकेपछि स्थिति भयाभह हुँदा नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको थियो।
नेपाली सेनाले स्थिति सामान्य बनाउन देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो। देश नेतृत्वविहीन भएपछि नेपाली सेनाले नेतृत्व गर्दै जेनजी युवाहरू र राष्ट्रपति रामचन्द्र पौडेलको लामो सहमति पछि शुक्रबार राती प्रधानमन्त्रीको टुङ्गो लगाएको थियो ।
प्रधानमन्त्री कार्कीलाई राति नै शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण समेत गराइएको छ।















