
फोहोर राजनीति छोडौँ, आफ्नो ठाउँ बनाउँन लागौँ
Above Article Content Ad
दिर्घ राज ओझा,
पुनर्बास -नेपालमा राजनीति परिवर्तनको मेरुदण्ड हो भनेर हामीले सुन्दै आएका छौँ।
तर आजका दिनमा राजनीति शब्दसँगै घृणा, स्वार्थ, भ्रष्टाचार र असक्षमता जोडिने गरेको देख्दा अत्यन्तै दुःख लाग्दछ। राजनीति भन्नेबित्तिकै जनताको सेवाभन्दा बढी व्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यमको रूपमा बुझिन थालिएको छ। यसरी विकृति र विसंगतिले ग्रसित हाम्रो राजनीतिले मुलुकलाई कहिल्यै सही दिशामा अघि बढ्न दिइरहेको छैन।
हिजोका क्रान्तिहरू जनताको अधिकारको लागि थिए, तर आजको राजनीति पद, पैसा र प्रभावको खेलमा सीमित हुँदै गएको छ। नेताहरूले जनतालाई केवल चुनावी स्वार्थका लागि सम्झने, भाषणमा सपना देखाउने र कार्यमा धोका दिने प्रवृत्तिले हाम्रो राजनीतिलाई झन् झन् फोहोर बनाइरहेको छ। अब समय आएको छ ।
हामी युवा पुस्ताले आफैं उठ्ने, चेतनशील बन्ने, र परिवर्तनको आँधी ल्याउने। फोहोर राजनीतिमा रमाउने होइन, स्वच्छ नेतृत्व र जिम्मेवार नागरिक बन्ने। समाज परिवर्तन केवल नाराले हुँदैन, इमानदार कर्मले मात्र सम्भव छ। आफ्नो ठाउँ बनाउँन लागौँ ।
यसको अर्थ के? यसको अर्थ हो: हामी जहाँ छौँ, जस्तो भूमिका छ, त्यहीँबाट सकारात्मक काम सुरु गरौँ। शिक्षक छौँ भने शिक्षामा इमानदारी ल्याऔँ, पत्रकार छौँ भने सत्यको पक्षमा कलम चलाऔँ, व्यापारी छौँ भने नाफाभन्दा बढी सेवाको भावना राखौँ। केवल नेताहरूलाई दोष दिएर होइन, आफू पनि सच्चिएर समाजको अनुकरणीय पात्र बन्नुपर्छ। फोहोर राजनीति छोड्नु भनेको राजनीतिबाट भाग्नु होइन, बरु स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कारको थालनी गर्नु हो।
परिवर्तन चाहने हामी नै हौँ भने परिवर्तन ल्याउने पनि हामी नै हौँ। देश बदल्नका लागि क्रान्ति होइन, विवेकपूर्ण निर्णय र सकारात्मक क्रियाकलाप आवश्यक छ। फोहोर राजनीतिलाई गाली गरेर होइन, आफ्नो ठाउँमा सच्चा नागरिक भएर मात्र हामी मुलुकको मुहार बदल्न सक्छौँ। अब समय हो — परिवर्तनको, निर्माणको र समर्पणको। हामी राजनीतिलाई होइन, राजनीतिमा सफा सोच बोकेका मानिसहरूलाई चाहन्छौँ। त्यसैले, फोहोर राजनीति छोडौँ, र आफ्नो ठाउँ बनाउँन लागौँ।
-लेखक पपुलर स्कुल भिमबस्तीका प्रिन्सिपल हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad