कैलालीको चुरेमा निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न, २ हजार बढी पशुको उपचार
कैलालीको चुरे गाउँपालिकामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिहिवार चुरे गाउँपालिका वार्ड नम्बर ६ को बयला क्षेत्रमा शिबिर संचालन गरिएको थियो । GRAPE परियोजना अन्तरगत हेफर प्रोजेक्ट नेपालको आयोजना र पशु बिकास शाखा चुरेको प्राबिधिक सहयोग तथा चुरे गाउँपालिका वार्ड नम्बर ६ को ब्यवस्थापन सहयोगमा शिबिर संचालन भएको थियो ।
शिबिरमा विशेष गरि बाख्रा, गाई गोरु, भैसी, कुकुर, बिरालो लगायतको उपचार तथा औषधी बितरण गरिएको थियो । घर पालुवा जनवारको स्वस्थ्यलाई मध्य नजर गर्दै सो क्षेत्रमा शिबिर संचालन गरिएको हेफर प्रोजेक्ट नेपालका प्रोजेक्ट कोर्डिनेटर बिष्णु प्रसाद धितालले जानकारी दिनुभयो । उहाँले शिबिरबाट घरमा पालिएको पशुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने किसानले जानकारी पाएको बताउनुभयो ।
पशु स्वास्थ्य शिबिरबाट ८१ घरधुरीका किसानले सेवा लिएका छन । जसमध्ये १ हजार ५ सय ४५ बाख्रा, ३ सय ३६ गाईगोरु, ५५ भैंसी तथा १ सय २४ कुकुरबिरालोको औषधि बितरण संगै परामर्श सेवा उपलब्ध गराईएको हेफर प्रोजेक्ट नेपालका प्रोजेक्ट कोर्डिनेटर धितालले जानकारी दिनुभयो । कुल २ हजार ६० पशुको उपचार तथा परामर्श सेवा उपलब्ध गराईएको थियोे । निशुल्क रुपमा शिबिरबाट औषधी बितरण संगै पशु उपचार तथा परामर्श सेवा लिन पाँउदा सो क्षेत्रका किसानले खुशी व्यक्त गरेका छन् ।