पुनर्वास– ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक हेमराज भट्टले लागुऔषध ओसारपोसार र दुव्र्यसनी नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
एक हप्ता अघि मात्रै प्रहरी वृत्त नयाँबानेश्वरबाट सरुवा भई आएका प्रहरी निरिक्षक भट्टले पुनर्वास क्षेत्रमा देखिएको लागुऔषध दुव्र्यसनीका गतिबिधि नियन्त्रण गर्न आफ्नो सक्रियता रहने बताएका हुन् ।
लागुऔषध ओसारपसार र दुव्र्यसनी यस क्षेत्रको मुख्य समस्याका रुपमा रहेको बताउदै न्युनिकरणका विषयमा आफु निकै नै कडा रुपमा उत्रने प्रहरी निरिक्षक भट्टले बताए । नयाँ क्षेत्र र परिवेश भएकाले विभिन्न पक्षहरुसंग यस क्षेत्रका समस्याका विषय र त्यसको समाधानका उपायका लागि छलफल र भेटघाटमै यतिबेला व्यस्त रहेको जानकारी दिए ।
प्रहरी निरिक्षक भट्टले लागुऔषध नियन्त्रणमा प्रहरीको मात्रै सक्रियताले नपुग्ने भएकाले न्यूनिकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुसंग “लागुऔषध नियन्त्रण महाअभियान २०८०” जनचेतनामूलक कार्यक्रम समेत सुरु गरेको बताए ।
महाअभियानको सुरुवात आईतबार पुनर्वास नगरपालिका–३, स्थित जनकल्याण माध्यमिक विद्यालय र सोमबार पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षक–शिक्षिकाको उपस्थितीमा गरिएको थियो । प्रहरी निरिक्षक भट्टले कार्यकालको सुरुवाती दिनमै मेडिकलमा भईरहेको जुवा खालबाट सञ्चालक सहित सात जना पक्राउ गरेपछि कार्यशैली प्रति सुरुवातमै जनस्तरमा निकै चर्चा चलेको थियो ।