
कञ्चनपुरमा नाका कटाउन खोजिएको ओखर सशस्त्रको फन्दामा
धनगढी -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ।
शनिबार राति करिब ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतका देविस्थान सीमा सुरक्षा गुल्म, बीओपी सुन्दरनगर र बीओपी कञ्जभोजबाट खटिएका तीनवटा टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त सामान फेला पारेका हुन्।
सशस्त्र प्रहरीका अनुसार ५९० केजी ओखर र ढुवानीमा प्रयोग गरिएका चारवटा साइकल बरामद गरिएको छ। बरामद ओखरको मूल्य २ लाख ९५ हजार र साइकलको मूल्य २० हजार रुपैयाँ गरी कुल ३ लाख १५ हजार रुपैयाँ कायम गरिएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।















