
धनगढीको मोहना घाटमा छठको रौनक, भक्तजनमा उत्साह
छठ पर्वको मुख्य पूजा आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। व्रतालुहरूले विभिन्न फलफूल, उखु, केरा तथा घरमै तयार पारिएका पकवान सूर्यदेव र छठी मातालाई चढाउने गरेका छन्।
धार्मिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ। त्यसयता छठ पर्व मनाउने परम्परा चल्दै आएको धार्मिक विश्वास छ।
छठको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बसेर पूजा गर्ने, छठी माताका कथा सुन्ने र भजनकीर्तनमा सहभागी हुनेछन्। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिनेछ।
छठ पर्वमा उखु, केरा, नरिवललगायतका फलफूल र प्रसादको विशेष महत्त्व हुन्छ। विशेषगरी उखुलाई छठ पूजाको महत्त्वपूर्ण सामग्रीका रूपमा चढाउने परम्परा छ।
कुनै समय तराई–मधेसमा सीमित रहेको छठ पर्व अहिले पहाडी तथा हिमाली क्षेत्रसहित देशभर मनाउन थालिएको छ। छठी माताको आराधना गर्दा मनोकामना पूरा हुने, सन्तान प्राप्ति हुने तथा परिवारको सुख, शान्ति र सन्तानको दीर्घायु प्राप्त हुने धार्मिक विश्वासका साथ विभिन्न समुदायका भक्तजनले यो पर्व मनाउने गरेका छन्।
मोहना घाटमा यसवर्ष पनि छठ पूजासँगै विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। नृत्य, स्थानीय कलाकारका प्रस्तुति तथा छठी माता र अन्य देवीदेवतासम्बन्धी धार्मिक कथा प्रस्तुत गरिनेछ। भक्तजनको मनोरञ्जनका लागि विभिन्न खेल तथा अन्य गतिविधिसमेत राखिएका छन्।
छठ पूजा सेवा समितिका सचिव सरोजकुमार यादवका अनुसार यसवर्ष मोहना घाटमा एकदेखि डेढ लाखसम्म भक्तजन तथा दर्शक आउने अपेक्षा गरिएको छ। समितिले पूजास्थलको सजावट, सरसफाइ तथा अन्य व्यवस्थापकीय तयारी पूरा गरिसकेको जनाएको छ।
ठूलो सङ्ख्यामा भक्तजन आउने अपेक्षा गरिएकाले सुरक्षाका लागि एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था मिलाइएको छ। साथै सम्भावित स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै प्राथमिक उपचार केन्द्रसमेत स्थापना गरिएको छ।


























