ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा नागरिक सुनवाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
बेलौरी-कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा रहेको ईलाका प्रहरी कार्यालयले नागरिक सुनवाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
“नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामका लागि अनिवार्य”मुल नारा सहित मंगलबार प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित नागरिक सुनवाई तथा परिचयात्मक कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले सिमामा हुने चोरी तस्करी , शान्तिसुरक्षा तथा लागु औषध नियन्त्रणका बिषयमा जोड दिएका थिए ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मेवार एरिया भारतीय सिमा नाका संग जोडिएकोले प्रहरीलाई सुरक्षामा थप चुनौती रहेको बताए ।
सीमामा हुने अनेकौं गतिबिधिमा स्थानीयको भुमिका रहेमात्रै त्यसको न्यूनिकरणमा प्रहरी सफल हुने अध्यक्ष रानाले जोड दिए ।
ईलाका प्रहरी कार्यालयबाट भौगोलिक रूपमा निकै दुरीमा रहेको लालझाडी गाउपालिकामा आपराधिक क्रियाकलाप बढ्दै गएकाले प्रहरी सक्रियता बढाउन जरुरी रहेको उनले बताए ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि एबं बेलौरी नगरपालिका उपप्रमुख जोगबहादुर चौधरीले बेलौरीको शान्ति सुरक्षामा बिशेष भुमिका निर्वाहमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रहरीको एकल प्रयासमा कुनै कार्य सफल हुंदैन,स्थानीय सरकारका जनप्रतिनिधिसँग सहकार्य गरेर अगाडी बढेमात्रै प्रहरी सफल हुने उपप्रमुख रानाको भनाई थियो ।
कार्यक्रममा समाजसेवी एबं नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका अध्यक्ष नन्दकुमार रानाले “सानालाई ऐन ठुला व्यापारीलाई चैन” हुने गरिन्छ । यस्तो क्रियाकलाप नहोस , प्रहरीको व्यबहार समान र बेलौरीमा शान्तिसुरक्षामा कमि नहोस होस भन्दै शुभकामना दिएका थिए ।
त्यसैगरी स्थानीय महिला अधिकारकर्मी नर्मदा रिजालले आफ्नो परिचय दिँदै जस्ले पनि जतिबेलापनि मदिरा बिक्रि भईरहेको छ ।यसले महिला हिंसा बढिरहेको छ । मदिरा सेवन गर्ने व्यक्तिहरूबाट शान्ति सुरक्षामा खलल हुने गरेकोले नियन्त्रणका लागि प्रहरीको पहल होस भन्ने सुझाव राखेकी थिईन ।
कार्यक्रमलाई समापन गर्दै प्रहरी निरिक्षक गौरी प्रसाद जैशीले बेलौरीको सुरक्षाको जिम्मेवारी पाउदै गर्दा यहाका मुलभुत समस्याको विषयमा योजना बनाएरै अगाडी बढेको जानकारी दिए ।
प्रहरी निरिक्षक जैशीले आफ्नो पहिलो महत्वपूर्ण पाँच जिम्मेवारी पुरा गर्ने लक्ष्य अन्तर्गत लागुऔषध नियन्त्रण , सिमा क्षेत्रमा हुने चोरी तस्करी, गुण्डागर्दि तथा चोरी डाँका नियन्त्रण , भन्सार छलि नियन्त्रण साथै प्रहरी सेवा प्रवाहमा कानुनबमोजिम सहजीकरण गर्ने आफुले अठोट लिएको बताए ।
गैरकानुनी क्रियाकलापमा संलग्नलाई मेरो तर्फबाट कुनै प्रकारको सहयोग रहने छैन कानुन सबैका लागि बराबरको रहने र आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कार्यक्षेत्र भित्र शान्तिसुरक्षाको अनुभुति दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
विभिन्न व्यक्तिहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक बर्मबहादुर रोकायाले गरेका थिए ।