Above Article Ad
  • पुनर्वासमा बाढीका कारण धानखेती नष्ट, केमिकल मिसाएको आरोप

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको दोदामा गत साउन २४ र २५ गते आएको बाढीले किसानको सयौँ बिघा धान खेती नष्ट गरेको छ । दुई दिन आएको बाढीले पुनर्वास नगरपालिका ५ र ७ मा बढी क्षति गरेको हो । विगतको बाढीले यति ठुलो नोक्सान नगर्ने गरेकोमा यस वर्ष भने चिनी मिलबाट आउने दूषित पानीका कारण ठुलो नोक्सानी व्यहोर्नुपरेको किसानहरूको दुखेको छ । पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको भागेश्वर मिलबाट आउने कच्चा पदार्थले यस वर्ष बढी धान खेतीमा असर गरेको किसानहरूले बताएका छन् । विगतको बाढीले यस वर्षको जस्तो नोक्सानी हुने खालको बाढी विगतका वर्षमा नआएको तर यस वर्ष स्थानीय चिनी मिलले बाढी आएको समयमा केमिकल मिसाइदिँदा यस्तो भएको हुन सक्ने पुनर्वासका स्थानीय किसान गोपाल चौधरीले बताए ।
    “बाढीले धान बाली नोक्सानी गरेको होइन । वर्षौँदेखि हाम्रा बाउ बाजेहरूले समेत खेती गर्दै आइरहेका थिए । तर यस बाढीकै कारण धान कहिल्यै पनि मरेको थिएन”उनले भने,“तीन बिगाहा जमिनमा मैले धान खेती गरेको थिए । त्यसमध्ये पाँच कट्टा मात्रै धान बचेको छ । बाँकी सबै धान नष्ट भएको छ । अघिल्ला वर्षहरूमा केही क्षति हुने गरेको थियो, नहुने भन्ने चाहिँ होइन तर यस वर्षको जसरी धानको डाँठ नै मर्ने गरी क्षति हुन्थेन ।दुई दिनको बाढीले जडैदेखि कुवाइदिएको छ ।”
    उनले यहिको स्थानीयचिनीमिलले बाढी आएको समयमा केमिकल मिसाइदिँदा यस्तो हुन गएको बताए ।
    यस्तै अर्का किसान रमेश रानाले पनि यस वर्षको बाढीका कारण ठुलो नोक्सानी व्यहोर्नुपरेको दुखेसो पोखे ।
    “यो क्षेत्रमा वर्षौँदेखि बाढी आउने गरेको छ । तर यो वर्षको जस्तो नोक्सान अहिलेसम्म गरेको थिएन । भोगेश्वर मिलले सिमरी नदीमा कच्चा पदार्थ फाल्ने गरेको छ । हामीले मिललाई नदीमा कच्चा पदार्थ नफाल्न आग्रह गरिरहेका छौँ । तर अहिले सम्म पनि मिलले कच्चा पदार्थ फाल्न रोकेको अवस्था छैन् । त्यस कारणले पनि अहिले हामीले यो समस्या भोगिरहेका छौँ,” उनले भने ।
    बर्षौभरी खानको लागि रोपेको धान यसरी नष्ट हुँदा अब के खाने भन्ने चिन्ता बढेको उनको भनाई छ । यसरी बाढीमा केमिकल मिसाउँदा ठुलो क्षति भोग्नुपरेकोले अबका वर्षमा यस्तो काम नगर्न मिललाई उनले आग्रह गरे ।
    लगातारको बाढीले वडा नम्बर ५ को विषेशगरी उर्दी क्षेत्रमा बढी क्षति गरेको वडाध्यक्ष पदम रोकायाले बताए । “उखुबारीदेखि धान बाली सबै नष्ट भएको छ । उखु केही मात्रामा मात्रै बचेको अवस्था छ,” उनले भने,“अहिले हामी पनि बाढी प्रभावित क्षेत्रमा नै खटिएर किसानहरूको क्षतिपूर्तिको सङ्कलन कार्य गरिरहेका छौँ । जुन रुपमा अहिले बढी नोक्सानी भएको छ । यसको वास्तविक के कति कारणले हो भनेर हामीले नमुना परीक्षणका लागि माटो र पानी ल्याबमा पठाइसकेका छौँ ।”
    त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष मुलचन्द रानाले पनि अहिले बाढी क्षेत्रमै व्यस्त भइरहेको बताएका छन् । उनले वडा नम्बर ७ मा पनि ठुलो नोक्सानी गरेकोले क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गरी नगरपालिकालाई राहतको लागि सिफारिस गरिने बताए ।
    “वडाबाट पहल गरिरहेको छु । किसानहरूको के कति क्षति भएको छ । त्यो डाटा लिइरहेको छु । अब वडाबाट त्यो समस्या समाधान गर्न सकिँदैन । त्यसैले मैले नगरपालिकासँग पहल गर्दै छु । यस क्षेत्रका किसानले राहत पाउनुपर्छ भनेर म नगरपालिकासँग निरन्तर पहल गर्नेछु ,” उनले भने ।
    यता पुनर्वास नगरपालिकाको कृषि विकास शाखाका प्रमुख कर्ण बहादुर शाहीले अहिले आफूहरू पनि बाढी क्षेत्रकै ठाउँमा पुगिरहेको र क्षतिहरूको तथ्याङ्कहरू सङ्कलन गरेपश्ताप नगरपालिकाले के कति राहत दिन सक्छ भन्न सकिने बताए । उनले प्रदेश सरकारलाई समेत राहतको लागि आग्रह गर्ने बताए ।
    बिहीबार बाढीको स्थलगत अनुगमन गर्न पुगेका सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री रामेश्वर चौधरीले किसानहरूलाई राहत दिनको लागि प्रदेश सरकारले प्याकेज ल्याउने बताए । उनले बाढीमा केमिकल मिसाएर धान खेती नष्ट भएको किसानहरूबाट गुनासो आएकाले प्रदेश सरकारले विज्ञ टोली पठाएर क्षतिको विवरण सङ्कलन गरिरहेको जानकारी दिए ।
    “किसानले क्षतिपूर्ति पाउनुपर्छ ।किसानहरूको जुन क्षति भएको छ । उहाँहरूलाई राहत हुने गरी प्याकेज ल्याउनेछौँ । यसमा स्थानीय सरकारले समेत प्रदेशसँग समन्वय गर्न आवश्यक छ”मन्त्री चौधरीले भने, “जसरी किसानहरूले बाढीमा केमिकल मिसाएर धान खेती नष्ट भएको बताएका छन् । यदि त्यसो भएको हो भने गल्ती गर्ने निकायलाई आगामी दिनमा यस्ता कार्य नगर्न चेतावनी दिनुपर्छ ।”
    बाढीका कारण पुनर्वास क्षेत्रको करिब अढाई सय बिघा बढी धान खेती र उखु खेतीमा क्षति पुगेका अनुमान गरिएको छ । तर स्थानीयले भने बाढीमा केमिकल मिसाउने मिललाई कारबाहीको हुनुपर्ने र वास्तविक पीडित किसानलाई न्यायोचित राहत उपलब्ध गराउनुपर्ने पीडितहरूको माग छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button