
पुनर्वासमा बोलेरो जिप दुर्घटना, दुई जना घाईते
पुनर्वास- कंचनपुरको पुनर्वासमा बोलेरो जिप दुर्घटना भएको छ । बिहिबार डोटीको सायलबाट पुनर्वास आउने क्रममा राती १२ बजेको समयमा पुनर्वास नगरपालिका-५,पशुपति चोकमा विवेक किराना पसलमा ठोक्किदा दुर्घटना भएको हो ।
पुनर्वास नगरपालिका-५, शिव टोलका २७ वर्षिय धनबहादुर बयाडीले चलाएको से.१ ज. १०२३ नम्बरको दुर्घटनामा परेको बोलेरोमा सवार १२ जना मध्ये ९ वर्षिय शिव खाती गम्भीर घाईते र भक्त खाती सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । गम्भीर घाईते बालक शिवको धनगढी स्थित माया मेट्रो हस्पिटलको आईसियुमा उपचार भईरहेको छ ।
दुर्घटना पछि प्रहरी नियन्त्रणमा रहेका बोलेरो चालक बयाडीलाई पिडितको जाहेरी पछि ७ दिन म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक हेमराज भट्टले बताए । प्रहरी निरीक्षक भट्टका अनुसार बोलेरोले विवेक किराना पसलको घरमा आंशिक क्षति पुर्याएको बुझिएको छ । प्रहरीको चेकजाँच बढाएपनी पुनर्वासमा सवारी दुर्घटना एक पछि अर्को हुँदै आएको छ ।