विधुतको वैकल्पिक व्यवस्थापन नहुँदा सेवाग्राही सास्ती खेप्न बाध्य
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा विधुत कटौतीको समस्याले नागरिकता र परिचय बनाउनेको बिजोग भएको छ । ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा विधुतको वैकल्पिक व्यवस्थापन नहुँदा सेवाग्राहीले सास्ती पाइरहेका छन् ।
प्रशासन कार्यालयमा विगत दुई वर्ष अघि देखि विधुतको वैकल्पिक व्यवस्थापन हुन नसक्दा दुई नगरपालिका र एक गाउँपालिकाबाट आउने सेवाग्राहीहरूले सेवा लिन सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।अहिले नागरिकताको प्रतिलिपि बनाउन पनि तीन/चार दिन कार्यालय धाउनुपरेको बेलौरी नगरपालिका २ का स्थानीय अशोक चौधरीले गुनासो गरे ।
सबैभन्दा बढी भिडभाड हुने यो कार्यालयमा विधुत व्यवस्थापन नहुनु निकै लज्जास्पद भएको बेलौरीकै नेत्रलाल चौधरीले गुनासो गरे । राष्ट्रिय परिचय पत्रका लागि आफू पनि तीन दिन देखि पीडित रहेको बताए । यसरी कार्यालयमा विधुतको व्यवस्थापन नहुँदा बेलौरी र लालझाडीका स्थानीयले बढी सास्ती खेप्नुपरेको छ ।
यता ईलाका प्रशासन कार्यालयका प्रमुख डम्बर बहादुर खड्काले पनि कार्यालयमा विधुतको वैकल्पिक व्यवस्था नभएको स्वीकार गरेका छन् । कार्यालयमा व्यवस्थापन शीर्षकमा बजेट नहुँदा विधुतको वैकल्पिक व्यवस्था गर्न नसकेको उनले बताए । विधुतको वैकल्पिक व्यवस्था गर्नको लागि बिभिन्न निकायमा खवर गरेता पनि समस्याको समाधान हुन नसकेको उनको भनाई छ ।
अहिले सो कार्यालयबाट पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका नागरिकले सेवा लिइरहेका छन् । विधुतको वैकल्पिक व्यवस्थाकै कारण सेवाग्राहीहरूले पाइरहेको सास्तीका विषयमा कसैले चासो देखाएको छैन ।