
पुनर्बास–११ अन्तर्गतको खानेपानी योजना अघि बढाउन पहल सुरू
पुनर्बास। लामो समयदेखि अधुरो अवस्थामा अलपत्र बनेको डोकेबजार खानेपानी उपभोक्ता समिति, पुनर्बास–११ अन्तर्गतको खानेपानी योजना अघि बढाउन पुनर्बास नगरप्रमुख आदरणीय तोय प्रसाद शर्माले सुदूरपश्चिम प्रदेश मन्त्रालयका सचिवसँग भेटवार्ता गरेका छन् ।
नगरप्रमुख शर्मा, डोकेबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष टेक ब. बानिया र स्थानीय समाजसेवी प्रेम ब. थापासहितको टोलीले सचिवसमक्ष परियोजना १० वर्षदेखि रोकिनुको कारण, विद्यमान समस्या तथा समाधानका आवश्यक उपायहरूबारे विस्तृतरूपमा अवगत गराएको थियो।
छलफलमा योजना पुनः सञ्चालनका लागि आवश्यक समन्वय, बजेट व्यवस्थापन तथा छिटो कार्यान्वयनका उपायमा ध्यान केन्द्रित गरिएको नगरप्रमुख शर्माले बताए।
भेटवार्तापछि समस्याको शीघ्र समाधान हुने आशा जगिएको छ।
१० वर्षदेखि अधुरो रहेको यस खानेपानी योजनाका कारण स्थानीयवासी वर्षौँदेखि खानेपानी अभाव झेल्दै आएका छन् ।















