
५ दिनदेखि बेपत्ता रमा बोराभित्र मृत भेटिइन्, हत्या आरोपमा प्रेमी पक्राउ
झापाको दमक–८ बसन्तटोलकी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।
परिवारका अनुसार जेठ १३ गते राति प्रेमीले फोन गरेर भेट्न बोलाएपछि रमा घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
घरबाट निस्किएको पाँच दिनपछि रमाको शव खोलामा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै प्रेमीलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा पक्राउ परेका युवक हालै लागूऔषध सुधार केन्द्रबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घटनामा उनको संलग्नता रहेको आशंकामा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ। साथै, घटनाबारे विस्तृत विवरण प्रमाणसहित छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।















