
घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर
घोडाघोडी-कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ। यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तरराष्ट्रिय महत्व बोकेको एक समृद्ध पारिस्थितिक प्रणालीसमेत हो, जहाँ थुप्रै दुर्लभ वनस्पति र जीवजन्तु पाइन्छन्।
घोडाघोडी सिमसारमा पाइने विभिन्न जलचर, पन्छी, वन्यजन्तु र वनस्पतिहरूका कारण यस क्षेत्रलाई जैविक विविधताका दृष्टिले अति नै महत्त्वपूर्ण मानिन्छ। सांस्कृतिक आस्था र धार्मिक विश्वासले समेत समेटिएको यो क्षेत्र सन् २००३ को अगस्टमा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो।
जैविक विविधताको खानी घोडाघोडी
विश्वभरका एक हजार ३१४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन्। यहाँका जङ्गलमा बहुमूल्य र औषधिका रूपमा प्रयोगमा आउने सतिसाल, साज, खयरलगायत वनस्पति पाइन्छ। रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्त्वपूर्ण अन्तरराष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन्। यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिको रूपमा छन्। चराहरूको महत्त्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘वर्ड सेन्चुरी (चरा अभय आरक्षण) क्षेत्र’ घोषणा गरिएको थियो।
आस्था, संस्कृति र पहिचानको त्रिवेणी
घोडाघोडीको महत्व केबल सिमसार र जैविक विविधतामा मात्रै सीमित छैन । यो पश्चिम नेपालका थारू समुदायको लागि सबैभन्दा ठूलो र पवित्र देवस्थल हो। उनीहरू यसलाई ‘घोरीघोरा’ देवस्थानका रूपमा हरेक वर्ष विधिपूर्वक ‘लवाङ्गी पूजा’ गरिन्छ। यस पूजामा नयाँ अन्नबाली देवतालाई चढाउने गरिन्छ। घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीका अनुसार कैलाली, कञ्चनपुरदेखि दाङसम्मका थारू समुदायको आस्था यस स्थानसँग जोडिएको छ।
यसबाहेक, माघेसङ्क्रान्ति, शिवरात्रि र मोहन्याल पर्वमा यहाँ ठूला धार्मिक मेला लाग्छन्, जहाँ हजारौँ भक्तजनको घुइँचो लाग्छ। तालको किनारमा रहेको शिव मन्दिरले यस क्षेत्रलाई अन्य समुदायका लागि पनि आस्थाको केन्द्र बनाएको छ। यति धेरै प्राकृतिक, जैविक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्र पछिल्ला वर्षहरूमा विभिन्न चुनौतीको सामना गरिरहेको छ। बढ्दो मानव चाप, अव्यवस्थित संरचना विकास र संरक्षणतर्फ न्यून प्राथमिकताका कारण यो सिमसार क्षेत्र सङ्कटमा पर्न थालेको छ। एकातिर यसको पर्यटकीय चर्चा चुलिँदैछ भने अर्कातिर यसको जैविक विविधता खस्किरहेको छ।
बढ्दो मानव चाप र अव्यवस्थित संरचनाले बढ्यो चुनौती
प्राकृतिक, जैविक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको घोडाघोडी सिमसार पछिल्ला वर्षहरूमा विभिन्न चुनौतीको सामना गरिरहेको छ। बढ्दो मानव चाप, सजावटका लागि प्रयोग गरिएका रङ्गीबिरङ्गी कपडा, हाइटेसन लाइन, धार्मिक गतिविधिको विस्तार तथा संरक्षणमा कमजोर व्यवस्थापनका कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको छ।
चराविद् तथा संरक्षणकर्मी डा हेमसागर बराल सिमसार क्षेत्रमा बढ्दो भौतिक संरचना र अव्यवस्थित पर्यटन गतिविधिले घोडाघोडीको प्राकृतिक स्वरूप नै बिग्रिँदै गएको बताए। अत्यधिक संरचना निर्माणले सिमसार क्षेत्रलाई कङ्क्रिट जङ्गलजस्तै बनाउने खतरा बढेको उल्लेख गर्दै योजनाबिना बनाइएका संरचनाले प्राकृतिक सौन्दर्य र जैविक विविधता दुवैमा नकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।
संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार सिमसार क्षेत्रमा जथाभावी मन्दिर, पर्खाल, तारजाली तथा अन्य भौतिक संरचना निर्माण भइरहेका छन् । “धार्मिक आस्था नराम्रो होइन, तर प्रकृतिमाथि हस्तक्षेप हुनेगरी संरचना विस्तार गर्नु उपयुक्त हुँदैन”, उनले भने। उनका अनुसार रातिको अत्यधिक प्रकाशले चराचुरुङ्गी तथा वन्यजन्तुको प्राकृतिक जीवनचक्रमा असर पारिरहेको छ। धार्मिक गतिविधिसँगै बढ्ने फोहर, कोलाहल र मानव चापले सिमसारको संवेदनशील पारिस्थितिक प्रणाली थप प्रभावित बनेको उनको भनाइ छ। “प्राकृतिक सम्पदालाई सम्मान गर्दै धार्मिक गतिविधि सञ्चालन गर्नुपर्छ”, उनले भने।
मिचाहा झारको विस्तारले सङ्कटमा सिमसार
घोडाघोडी तालमा मिचाहा प्रजाति झार विस्तार भएपछि तालको अस्तित्व सङ्कटतर्फ धकेलिँदै गएको छ। घोडाघोडी क्षेत्रको उत्तर र पूर्वी भूभागमा ढाकिँदै गएको छ। यसले तालको प्राकृतिक स्वरूपका साथै सिमसारमा निर्भर जैविक विविधता, जलचर तथा चराचुरुङ्गीको वासस्थानमा समेत असर परेको छ। डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्याले घोडाघोडी सिमसार क्षेत्रमा फैलिँदै गएको मिचाहा प्रजातिका वनस्पतिले सिमसारको जैविक विविधता र जलचर प्रणालीमा गम्भीर असर पारिरहेको बताए।
पाध्याले मिचाहा झारका कारण सिमसारमा रहेका विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचर तथा मगरजस्ता जीव प्रभावित भइरहेको बताए। उनका अनुसार यस्ता झारले पानीको सतह ढाक्दा सूर्यको प्रकाश तलसम्म पुग्न नसक्ने भएकाले पानीमा अक्सिजनको मात्रा घट्ने र जलचर प्रणाली नै प्रभावित हुने अवस्था सिर्जना भइरहेको छ। डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीका अनुसार हाल घोडाघोडी ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल बेसरमले ढाकेको छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरी बेसरम हटाउने कार्य गरिएको वरिष्ठ वन अधिकृत केसीले उल्लेख गरे। उनका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले विनियोजन गरेको करिब रु एक लाख बजेटमार्फत बेसरम नियन्त्रण तथा हटाउने लक्ष्य राखिएको छ। ताल क्षेत्रभित्र विशेषगरी करिब दुई हेक्टर क्षेत्र अत्यन्त बाक्लो रूपमा बेसरमले ढाकेको छ।
सीमित स्रोत र बजेटका कारण यस वर्ष करिब आधा हेक्टर क्षेत्रबाट मात्रै हटाउने योजना बनाइएको वरिष्ठ वन अधिकृत केसीले बताए। “अहिले समग्रमा करिब पाँच हेक्टर क्षेत्र ढाकिएको छ”, उनले भने, “उपलब्ध बजेट र जनशक्तिअनुसार यस पटक आधा हेक्टर क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य लिएका छौँ तर दीर्घकालीन रूपमा पूर्ण नियन्त्रणका लागि थप लगानी र निरन्तर प्रयास आवश्यक छ।”
हरेक वर्ष झार फैलिने क्रम जारी रहेकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्याले मिचाहा झार हटाउने काम एकपटकको अभियानले मात्र सम्भव नहुने भन्दै निरन्तर व्यवस्थापन आवश्यक रहेको बताए। झार कुहिएर थुप्रिँदै जाँदा ताल पुरिने प्रक्रिया तीव्र हुने र दीर्घकालमा सिमसार क्षेत्र नै सङ्कटमा पर्न सक्ने उनको भनाइ छ।
अहिले उपलब्ध बजेटले सीमित क्षेत्र मात्र सफा गर्न सकिने भन्दै दीर्घकालीन योजना, निरन्तर कार्यक्रम र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनको धारणा छ। “मिचाहा प्रजाति नियन्त्रण केबल बजेटले मात्र सम्भव हुँदैन, दीर्घकालीन योजना, निरन्तर व्यवस्थापन र स्थानीय तहसम्मको समन्वय आवश्यक रहेको,” डा. बरालले बताए। घोडाघोडी सिमसार तथा चराहरूको संरक्षणका लागि विभिन्न नीतिगत तथा संस्थागत पहलहरू पनि गरिएका छन्। तर, घोषणा अनुसारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।
घोषणामै सीमित चरा अभय आरण्य
रैथाने तथा आगन्तुक चराहरूको प्रमुख वासस्थानका रूपमा परिचित यस क्षेत्रलाई प्रदेश सरकारले २०७८ फागुन २७ गते नेपालकै पहिलो ‘चरा अभय आरण्य’का रूपमा घोषणा गरेको थियो। चराहरूको संरक्षण, प्रजनन् र वासस्थान सुरक्षित गर्ने उद्देश्यसहित गरिएको यो घोषणा सुरुमा निकै महत्वाकांक्षी र उदाहरणीय कदमका रूपमा हेरिएको थियो। घोषणा भएको लामो समय बितिसक्दा पनि आवश्यक बजेट, पूर्वाधार विकास र प्रभावकारी व्यवस्थापनको अभावमा यसको उद्देश्य अपेक्षित रूपमा कार्यान्वयन हुन सकेको छैन।
अभय आरण्य क्षेत्र घोषणापछि प्रदेश सरकारमार्फत यस क्षेत्रका लागि झार हटाउनु बाहेक अन्य व्यवस्थापनका कार्य हुन सकेको छैन। “घोडाघोडी क्षेत्र चराहरूको लागि मात्र नभई सम्पूर्ण पारिस्थितिक सन्तुलनका लागि महत्वपूर्ण क्षेत्र रहेको संरक्षणकर्मी डा बरालले बताए। उनले भने, ‘‘घोषणा मात्रै गरेर घोडाघोडीको संरक्षण सम्भव हुँदैन, त्यसका लागि दीर्घकालीन योजना, पर्याप्त लगानी र निरन्तर अनुगमन आवश्यक हुन्छ।” घोषणापछि अपेक्षित रूपमा संरक्षणका कार्यक्रम सञ्चालन हुन नसक्नुको मुख्य कारण बजेट अभाव देखिएको छ। वन अधिकृत पाध्याका अनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत चरा अभय आरण्य क्षेत्रमा सीमित बजेट मात्रै विनियोजन गरिएको छ।
यता सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले आगामी आर्थिक वर्षमा घोडाघोडी सिमसार क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरिने बताए। उनका अनुसार सिमसारको संरक्षण, व्यवस्थापन तथा जैविक विविधता जोगाउन आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरिनेछ। उनले घोडाघोडी क्षेत्रको दीर्घकालीन संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै प्रभावकारी योजना कार्यान्वयन गरिने पनि बताए।
पर्यटन विकास योजना अलपत्र
सिमसारको संरक्षणसँगै यसको पर्यटन सम्भावनालाई उपयोग गर्ने उद्देश्यले स्थानीय तहले पनि विभिन्न पहलहरू अघि सारेको थियो। पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित घोडाघोडी नगरपालिकाले २०७४ पुस २६ गते ‘बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड’ गठन गरेको थियो। तत्कालीन नगरप्रमुख ममताप्रसाद चौधरीको पहलमा बनेको उक्त बोर्डले १० वर्षीय गुरुयोजना तयार गर्दै ताल तथा सिमसार संरक्षण, मिचाहा प्रजाति नियन्त्रण, जैविक विविधता जोगाउने, व्यवस्थित बोटिङ, पदमार्ग निर्माण तथा पर्यटकीय पूर्वाधार विकासका योजना अघि सारेको थियो। साथै, आन्तरिक तथा बाह्य पर्यटक लक्षित चरा अवलोकन र प्राकृतिक भ्रमण प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको थियो।
विसं २०७९ को निर्वाचनपछि बोर्डले निरन्तरता पाउन सकेन भने हालसम्म नयाँ समिति गठन गरिएको छैन। यता घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडग रावत छुट्टै बोर्ड आवश्यक नरहेको बताए। उनले भने, “बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डलाई निरन्तरता दिन आवश्यक छैन। गुरुयोजनाअनुसार विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको छ।” नगरपालिकाकै बजेट तथा योजनामा सिमसार क्षेत्रको पूर्वपट्टि थप संरचना निर्माणका लागि पनि काम अगाडि बढिरहेको छ।


























