
कैलालीको गोदावारीका मेयरलाई धनगढी उपमहानगरपालिकाद्वारा तोकियो जरिवाना
धनगढी -कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएका छन्।
शनिबार राति मादक पदार्थ सेवन गरेर उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटामा दुर्घटनामा परेको थियो। दुर्घटनाका क्रममा सडक छेउमा जडान गरिएको रेलिङमा क्षति पुगेपछि उपमहानगरपालिकाले क्षतिको मूल्यांकन गरेको हो।
धनगढी उपमहानगरपालिकाका प्राविधिक टोलीले गरेको निरीक्षणपछि रेलिङ मर्मतका लागि करिब ३५ हजार रुपैयाँ खर्च लाग्ने स्टमेट तयार गरिएको जनाएको छ। उक्त रकम असुल गर्न उपमहानगरपालिकाले कैलाली गाउँस्थित प्रहरी चौकीमा नगर प्रहरीसमेत पठाएको थियो।
तर मेयर भट्टले वारेस पठाएर रकम तत्काल नबुझाई आफैंले मर्मत सम्भार गरिदिने प्रतिबद्धता जनाएको उपमहानगरपालिकाको भनाइ छ। उपमहानगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिबाट क्षतिपूर्ति असुल गर्ने र मर्मत गराउने नीति अनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ।
दुर्घटनापछि स्थानीयले मदिरा सेवन गरेको अवस्थामा रहेका मेयर भट्टलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेर गाडी चलाएको भन्दै ५ सय रुपैयाँ र लापरवाहीपूर्वक सवारी चलाएको थप ५ सय रुपैयाँ गरी १ हजार रुपैयाँ जरिवाना तिराएको थियो।















