Above Article Ad
  • पुनर्वासमा खुलेआम जुवातास : स्थानीय सरकार र प्रहरीको भूमिकामाथि प्रश्न

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा लामो समयदेखि खुलेआम सञ्चालन भइरहेको जुवातास नियन्त्रण गर्न स्थानीय सरकार र प्रहरी प्रभावकारी बन्न नसकेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।

    समाजमा हुने विभिन्न आपराधिक गतिविधिको कारकका रूपमा जुवातासलाई लिइने गरिए पनि पुनर्वासमा भने यस्ता गतिविधि नियन्त्रण प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।

    Article inline ad #1
  • केही समयअघि पुनर्वास नगरपालिका–५ स्थित ठकुरी नास्ता पसलमा तास खेलिरहेको अवस्थामा प्रहरीले पसल सञ्चालकसहित केही व्यक्तिलाई नगदसहित नियन्त्रणमा लिएको थियो। त्यसपछि केही दिन जुवातासका गतिविधि सुनसान बने पनि पुनः पुरानै शैलीमा सञ्चालन हुन थालेको स्थानीयको भनाइ छ।

    Article inline ad #2

    स्थानीयका अनुसार डोकेबजार, आईबीआरडी बजारको एनसीएल चोकलगायतका क्षेत्रमा दैनिकजसो जुवातास खेल हुने गरेको छ। कतिपय स्थानमा अबेर रातिसम्म क्यारेमबोर्डमा समेत हजारौँ रुपैयाँको बाजी लगाएर खेल हुने गरेको उनीहरूको दाबी छ।

    यस्तै, पुनर्वास नगरपालिका–३ आसपासमा दैनिक ठूलो रकमको बाजीमा ‘खडखडे’ खेल सञ्चालन भइरहेको स्थानीयको आरोप छ। सुरक्षा चुनौतीसमेत निम्त्याउन सक्ने यस्ता गतिविधि लामो समयसम्म सञ्चालन भइरहँदा नियन्त्रणका लागि जिम्मेवार निकायको भूमिकामाथि प्रश्न उठेको हो।

    जुवातास नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी होइन। स्थानीय सरकारसँग पनि आफ्नो क्षेत्रभित्र हुने गैरकानुनी तथा सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र आवश्यक पहल गर्ने दायित्व रहन्छ। त्यसैले स्थानीय सरकार र प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको स्थानीयको भनाइ छ।

    अर्कोतर्फ, प्रहरी गस्ती तथा निगरानी भइरहँदा पनि जुवातासका गतिविधि खुलेआम सञ्चालन भइरहेको देखिनुले प्रहरीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। केही स्थानीयले जुवाका गतिविधिमा प्रहरीकै संरक्षण वा मिलेमतो हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यस्तो आरोपको पुष्टि भने भएको छैन।

    यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईसँग प्रतिक्रिया माग्दा, प्रहरीले गलत गरेको प्रमाण भेटिएमा सम्बन्धित प्रहरीमाथि कारबाही गरिने बताएका छन्।

    तर स्थानीयस्तरमा भने प्रदेश प्रहरीको निगरानी तथा मातहतका प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाइएको छ। यसअघि सादा पोशाकमा खटिएका केही प्रहरीमाथि जुवा अड्डाबाट रकम असुल्ने गरेको आरोप समेत लागेको छ।

    स्थानीयका अनुसार जुवातासका गतिविधि नियन्त्रणका लागि प्रहरीलाई मात्रै जिम्मेवार बनाउने वा स्थानीय सरकारलाई मात्रै दोष दिनेभन्दा पनि दुवै निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक छ।

    विशेषगरी चाडपर्व नजिकिँदै गएको अवस्थामा यस्ता गतिविधि थप बढ्न सक्ने भएकाले समयमै निगरानी र नियन्त्रण आवश्यक रहेको उनीहरूको भनाइ छ।

    स्थानीय आशिष तामाङले जुवातास जस्ता गतिविधि समयमै नियन्त्रण नगरिए यसले आर्थिक समस्या मात्रै नभई अन्य आपराधिक घटनासमेत निम्त्याउन सक्ने बताए। उनले स्थानीय सरकार, प्रहरी र प्रशासनबीच प्रभावकारी समन्वय गरी जुवाका अड्डा पहिचान गरेर कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरे।

    पुनर्वासमा जुवातास नियन्त्रणको प्रश्न अब कसले गर्ने भन्नेमा मात्र सीमित छैन, नियन्त्रणको जिम्मेवारी पाएका निकायले आफ्नो दायित्व कति प्रभावकारी रूपमा निर्वाह गरिरहेका छन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

    त्यसैले जुवातासका गतिविधि कहाँ र कसरी सञ्चालन भइरहेका छन् भन्ने विषयमा निगरानी, आवश्यक छानबिन र प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाउनुपर्ने देखिन्छ।

    स्थानीय सरकार र प्रहरीले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा समन्वयात्मक रूपमा अघि बढेर पुनर्वासमा खुलेआम सञ्चालन भइरहेका जुवातासका गतिविधि नियन्त्रण गर्न सके मात्रै स्थानीयको सुरक्षा र सामाजिक वातावरणप्रतिको विश्वास बलियो बन्नेछ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6