
साहारा घरमा नवजीवन अस्पतालको आत्मीय साथ, मानसिक स्वास्थ्यप्रति विशेष चासो
कैलाली-कैलालीको बोहनियास्थित साहारा घरमा नवजीवन अस्पताल प्रा.लि., धनगढीका मानसिक रोग विशेषज्ञ डा. अनुप देवकोटा पुगेर आश्रित व्यक्तिहरूसँग आत्मीय भेटघाट तथा स्वास्थ्य परामर्श दिनुभएको छ।
भ्रमणका क्रममा डा. देवकोटाले साहारा घरको अवलोकन गर्नुका साथै त्यहाँ आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकहरूसँग समय बिताउनुभएको थियो। उहाँले उनीहरूको स्वास्थ्य अवस्था, दैनिक जीवनशैली तथा आवश्यकताबारे जानकारी लिँदै मानसिक स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्नुभयो।
यस अवसरमा डा. देवकोटाले सन्ध्याकालीन भोजन कार्यक्रममा सहभागी भई श्रम सेवासमेत गर्नुभएको थियो। आश्रितहरूलाई भोजन वितरण गर्दै उहाँले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनालाई व्यवहारमा उतार्नुभएको थियो।
नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (CEO) चक्र खडायतले स्वास्थ्य सेवा अस्पतालको चार पर्खालभित्र मात्र सीमित नरहने बताउँदै समाजका हरेक वर्गसम्म पुगेर सेवा गर्नु संस्थाको दायित्व भएको बताउनुभयो। “मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउनुका साथै समाजका असहाय र संरक्षणको आवश्यकता भएका व्यक्तिहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो।
साहारा घरका अध्यक्ष बल बहादुर बिष्ट ले नवजीवन अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले आश्रितहरूमा आत्मविश्वास, खुसी र अपनत्वको भावना बढाउने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
मानवीय सेवा, मानसिक स्वास्थ्यप्रतिको संवेदनशीलता र सामाजिक उत्तरदायित्वको सन्देश बोकेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
















