
टेस्ट ड्राइभ भन्दै मोटरसाइकल लिएर युवक फरार, अत्तरियाका व्यवसायी अचम्ममा!
धनगढी– कैलालीको अत्तरियामा एउटा अचम्मको र फिल्मी शैलीको घटना बाहिर आएको छ। मोटरसाइकल किन्ने बहाना बनाएर शोरूम पुगेका एक युवक ‘टेस्ट ड्राइभ’ गर्ने नाममा नयाँ मोटरसाइकल लिएर सुइँकुच्चा ठोकेका छन्। दिनदहाडै भएको यो घटनाले अहिले स्थानीय व्यवसायीहरूलाई चकित बनाएको छ।
घटना गत साउन २३ गतेको हो। अत्तरियास्थित बाबु अटो सेल्सको शोरूममा मोटरसाइकल खरिद गर्ने भन्दै एक युवक ग्राहक बनेर प्रवेश गरेका थिए। मोटरसाइकल किन्ने कुरा गरेर उनले सञ्चालकहरूसँग ‘टेस्ट ड्राइभ’ गर्नका लागि अनुमति मागे। विश्वास गरेर साँचो जिम्मा लगाएपछि उनले सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७६७२ नम्बरको मोटरसाइकल स्टार्ट गरे र कुदाइहाले। तर, त्यसरी टेस्ट ड्राइभका लागि गएका ती युवक फर्केर आएनन्, उनी मोटरसाइकलसहित बेपत्ता भए।
तस्बिर सार्वजनिक भएपछि खुल्दैछन् रहस्यहरू!
अटो सेल्सका सञ्चालक बाबु भट्टराईले ती युवकको हर्कत देखेर सुरुमा पत्याउनै सकेनन्। जब ती युवक सम्पर्कमा आएनन्, तब अटो सेल्सले तत्कालै सीसीटीभी फुटेजका आधारमा फरार युवकको तस्बिर र भिडियो सार्वजनिक गर्दै खोजीका लागि सबैमा अपिल गर्यो।
जब ती युवकको तस्बिर बाहिरियो, त्यसपछि झन् अनौठो रहस्य खुल्न थालेको छ। सञ्चालक भट्टराईका अनुसार, तस्बिर सार्वजनिक भएलगत्तै अन्य विभिन्न ठाउँहरूबाट पनि ती युवकले ठ्याक्कै यही शैली अपनाएर अन्य शोरूमहरूबाट पनि यसैगरी मोटरसाइकल ठगी गरी लगेको जानकारी आउन थालेको छ।
प्रहरी खोजीमा, व्यवसायीहरू सतर्क
दिनदहाडै शोरूमबाट टेस्ट ड्राइभको नाममा महँगो मोटरसाइकल लुटेर फरार हुने ती चतुर युवकको अहिले चौतर्फी खोजी भइरहेको छ। अटो सेल्सका सञ्चालक भट्टराईले यस घटनाबारे सम्बन्धित निकायमा औपचारिक जानकारी गराइसकेका छन्। फरार युवकलाई कतै देखिएमा वा चिनेमा तत्काल नजिकको प्रहरी चौकीमा वा शोरूममा खबर गरिदिन व्यवसायीहरूले अनुरोध गरेका छन्। टेस्ट ड्राइभको यो ‘नयाँ धन्दा’ ले अहिले कैलालीका अटोमोबाइल व्यवसायीहरूलाई त्रसित र स्तब्ध बनाएको छ।















