
बर्दिया बस दुर्घटनामा घाइते कञ्चनपुरकी भट्ट दिदीबहिनीलाई न्याय दिलाउन सांसद संग्रौलाको माग
गत वैशाख २८ गते काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रालिको ना.८ ख १९४९ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत चिसापानी नजिक दुर्घटनाग्रस्त हुँदा डडेलधुराको भागेश्वर गाउँपालिका–४ की उर्मिला भट्ट र उनकी दिदी नीलम ओझा भट्ट गम्भीर घाइते भएका थिए।
जनज्योति बहुमुखी क्याम्पस, महेन्द्रनगरमा स्नातक चौथो वर्षमा अध्ययनरत २२ वर्षीया उर्मिला भट्टको दुवै हात र टाउकोमा गम्भीर चोट लागेको छ। परीक्षा दिन धनगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेकी उनको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। ३३ वर्षीया नीलम ओझा भट्टको हातमा गम्भीर चोट लागेको छ भने उनको उपचार कलंकीस्थित नेसनल अस्पतालमा भइरहेको छ।
प्रतिनिधिसभामा बोल्दै सांसद संग्रौलाले दुर्घटना भएको तीन महिना बितिसक्दा पनि पीडित परिवारले न्याय र आवश्यक सहयोग प्राप्त गर्न नसकेको भन्दै पिडीत परिवारलाई क्षातिपुर्तिकाे व्यवस्था गर्न माग गरिन्। उनका अनुसार हालसम्म बिमा कम्पनीले उपचार खर्चबापत तीन लाख रुपैयाँ मात्रै उपलब्ध गराएको छ भने पछिल्लो एक महिनादेखि बस मालिक र बिमा कम्पनीका प्रतिनिधिहरू समेत पीडित परिवारको सम्पर्कमा नआएको अवस्था छ। यसका कारण उपचारलाई निरन्तरता दिन र आर्थिक व्यवस्थापन गर्न परिवारलाई गम्भीर कठिनाइ भइरहेको उनले बताइन्।
सरकारले तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा उपचारमा कुनै अवरोध हुन नदिन आवश्यक पहल गर्न समेत उनले माग गरिन्।
साउन १५ गते जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरू पनि घाइते दिदीबहिनीको उपचार र न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रभावकारी उपचार, उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका थिए।
विद्यार्थीहरूले बसको अगाडिको चक्का निस्किएर दुर्घटना भएको दाबी गर्दै नियमित मर्मतसम्भारमा लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार दुर्घटनामा घाइते भएकी दुवै दिदीबहिनीको उपचारमा हालसम्म करिब ५० देखि ६० लाख रुपैयाँ खर्च भइसकेको छ भने थप ४० देखि ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन परिवारलाई कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।
विद्यार्थीहरूले अस्पताल, यातायात कम्पनी र बिमा कम्पनीलाई उपचार खर्चको पूर्ण जिम्मेवारी लिन, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्


























