
पुनर्वासमा मोटरसाईकल दुर्घटना हुँदा धनगढीका दुई युवा घाईते
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा मोटरसाईकल अनियन्त्रित हुँदा धनगढीका दुई युवा घाईते भएका छन् ।
शनिबार राती ९ बजेतिर बेलौरीबाट धनगढी तर्फ जाँदै गरेको से.७ प. ४५२० नम्बरको मोटरसाईकल बेलौरी–धनगढी हुलाकी सडक खण्डमा पर्ने पुनर्वास नगरपालिका–५ स्थित पशुपति चोक नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवा गम्भिर घाईते भएका हुन् ।
बाक्लो हुस्सुका कारण सडक नदेखिँदा सडक किनारामा लगाएका सिमेन्ट पिल्लरमा मोटरसाईकल ठोकिएको अस्थायी प्रहरी चौकी आई.बी.आर.डी.का प्रहरी सहायक निरिक्षक बर्मबहादुर रोकायाले जानकारी दिए ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने वर्ष २४ का प्रकाश राना र वर्ष १८ का कनैया राना गम्भिर घाईते भएको प्रहरी सहायक निरिक्षक रोकायाले बताए ।
प्रहरी सहायक निरिक्षक रोकायाका अनुसार घाईतेहरुको हात, चिउडो र बंगारामा चोट लागेको बुझिएको छ । दुर्घटना पछि पुनर्वास पोलिक्लिनिक पु¥याएका दुबै घाईतेको अवस्था जटिल देखिएपछि सामान्य उपचारपछि उनीहरुलाई धनगढी रेफर गरिएको पुनर्वास पोलिक्लिनिकका सञ्चालक धोखे रानाले बताए ।
केहि समय यता पुनर्वास–बेलौरीमा सडक दुर्घटना बढिरहेको देखिन्छ । दुर्घटनाको खबरपछि घाईतेको स्वास्थ्य अवस्था बुझ्न पुनर्वास नगरपालिकाका वर्तमान नगर प्रमुख तोयप्रसाद शर्मा र निर्वतमान नगर प्रमुख जिवनराज थापा हस्पिटल पुगेका थिए ।