
सुदूरपश्चिममा दैनिक एक सय सवारी साधन माथि कारबाही
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा दैनिक औसतमा एक सय सवारी साधन माथि कारबाही गर्ने गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले जेठ महिनाको सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा ३ हजार १९५ सवारी साधनमाथि कारबाही भएको छ । जुन औसतमा दैनिक एक सय भन्दा बढी हो ।
सो सङ्ख्यामा गरिएको सवारी साधन कारबाहीबाट २७ लाख ७९ हजार राजश्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदम बहादुर विष्टले बताए ।
उक्त तथ्याङ्क अनुसार प्रदेशमा एक महिनाको अवधिमा १६१ सवारी साधन दुर्घटना भएका छन् । जसमा २३३ सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २७९ जना घाइते भएका छन् ।
१६१ दुर्घटनामा चालकका कारण १५८, मापसे गरेका कारण १ सवारी साधनको कारण १ र चौपायाका कारण १ सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।














