
पृथ्वी पशुपालन महिला सहकारी संस्थाको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
“दिगो सहकारी आत्मनिर्भर सदस्य” भन्ने उद्देश्यका साथ कञ्चनपुरको पुनर्वास–८ मा रहेको पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बि.सं. २०५७ सालमा सहकारीको स्थापना भएपनि निडस नेपालको सहकार्यमा बि.सं. २०६९ साउन १ गतेदेखि हस्तान्तरण भई पृथ्वी पशुपालन महिला सहकारीको रुपमा स्थापना गरिएको थियो ।
सहकारीमा हाल १३०५ जना सदस्यहरु रहेका छन् । साधारण सभामा बोल्दै प्रमुख अतिथिको आसनबाट राष्ट्रय दुग्ध बिकास बोर्डका सञ्चालक सदस्य भरत बहादुर बिष्टले सहकारीले समाजमा रहेका गरिव, पिछडीएका वर्ग समुदाय र महिलाहरुलाई समूहमा आवद्ध गराएको बताउनुभयो । उहाँले सहकारीले स्थानीय महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा सामुदायिक उन्नति र जिवन स्तरमा व्यापक सुधार ल्याएको बताउनुभयो ।
यस्तै साधारण सभामा बोल्दै पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष निर्मला बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले आर्थिक वर्ष २०८१÷८२ मा ९ करोड ४७ लाख २६ हजार ७ सय ८४ रूपैयाँको आय व्याय प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । सहकारीले आर्थिक वर्ष २०८१÷८२ मा २४ लाख ३६ हजार ६ सय ६२ रुपैया शुद्ध नाफा गरेको उहाँले बताउनुभयो । सहकारीले आर्थिक वर्ष २०८२÷८३ मा १० करोड ३७ लाख ८० हजार २ सय ६६ रूपैयाँ बराबरको प्रस्ताबित आय व्याय समेत प्रस्तुत गरेको थियो ।
साधारण सभामा सुदुरपश्चिम प्रदेश संघका लेखा संयोजक डिल्ली प्रसाद शर्मा, सुदुरपश्चिम प्रदेश बिशिष्टकृत सहकारी संघका सञ्चालक तथा जिल्ला बहुउद्देश्यीय संघका उपाध्यक्ष दान बहादुर रावलको समेत उपस्थिीती रहेको थियो । यस्तै पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख धौलाराम सार्की, पुनर्वास ८ का वडाध्यक्ष राना श्रवण लगायत बिभिन्न सहकारीका आमन्त्रित प्रतिनिधिहरु, शेयर सदस्यहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहकारीका लेखा सदस्य लिला कुमारी के.सी.ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहकारीको ब्यवस्थापक पुष्पा बिष्टले गर्नुभएको थियो ।

















