
डेढ महिनापछि ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा नासु ताम्राकारलाई प्रमुखको जिम्मेवारी
पुनर्वास–कञ्चनपुरको तीन पालिका पुनर्वास, बेलौरी र लालझाडीलाई सेवा दिँदै आएको ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा डेढ महिनापछि सेवा नियमित सुचारु भएको छ ।
चैत ६ गते गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत नासु बिरराम ताम्राकारलाई ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीको का.मु.कार्यालय प्रमुखका रुपमा जिम्मेवारी दिएपछि बिहिबारबाट नागरिकताको काम नियमित भएको हो ।
गृहको पत्रमा चैत ६ गते जिम्मेवारी उल्लेख भएपनि आफुलाई चैत १३ गते मात्रै जानकारी प्राप्त भएको र १४ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा समन्वय गरी बिहिबार त्रिभुवनबस्तीको कार्यालयमा हाजिरी भएको नासु ताम्राकारले जानकारी दिए ।
नियमित सेवा सुचारु गरी दैनिकी गरिने कामलाई थप सहज र व्यवस्थित बनाउँदै लैजाने नासु ताम्राकारको भनाई छ ।
नासु ताम्राकारले सिस्टममा समस्या आउँदा दिनभरीमा एक जनाको मात्रै नागरिकताको प्रतिलिपि दिन सकेको विश्व खोजसँगको कुराकानीमा बताए । ५ वर्ष देखि जिल्ला प्रशासन कार्यालय कैलालीको नागरिकता फाँटमा काम गर्दै आएका थिए ।
त्रिभुवनबस्तीको सेवा अवरुद्ध भएपछि विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरु सेवा सुचारु गराउन निकै प्रयासरत भएपनि गृहमन्त्रालयका गृह सचिवको सरुवा भएसँगै नागरिकता सेवा पूर्ण प्रभावित बन्न पुगेको थियो ।