
गौरीशंकर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमसँगै दुई शिक्षक सम्मानित
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा नवनिर्मित चारकोठे भवनको उद्घाटन तथा अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।
बुधबार आयोजित एक भव्य समारोहका बीच विद्यालयको चारकोठे भवन उद्घाटन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर पूजाराको सभाध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका पूर्व नगर प्रमुख जीवनराज थापा हुनुहुन्थ्यो।
त्यस्तै, अतिथिहरूमा पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदमबहादुर रोकाया, वडा सदस्य कलावती ओड, पूर्व वडा अध्यक्ष वीरबहादुर बोगटी, वडा सदस्य टेकबहादुर बोहरा, लालबहादुर राना, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा समाजसेवी भरतबहादुर बस्नेत, प्रगति कृषि सहकारी संस्थाका अध्यक्ष चेतराज कापिड, भानु युवा क्लबका सचिव जयसिंह ठकुरी, अक्षय कोष दाता जयबहादुर बिष्ट, अक्षय कोष दाता विश्वनाथ बिष्ट, समाजसेवी सीता तिवारी लगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले शैक्षिक पूर्वाधार विकासले शिक्षाको गुणस्तरमा अभिवृद्धि हुने बताउँदै नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वि.सं. २०५९ सालदेखि निरन्तर सेवा गर्दै आएका शिक्षकद्वोय रमेश खत्री र धनबहादुर थापालाई दीर्घ सेवाको शुभकामनासँगै कदर पत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

त्यसैगरी, अक्षयकोष दाताहरूबाट प्राप्त ब्याजबाट जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। अक्षय कोष दाताहरूले शिक्षा क्षेत्रमा गरेको योगदानको कार्यक्रमका वक्ताहरूले उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी निरन्तर जोडिए विद्यालयलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर पूजाराले भवन निर्माण तथा अक्षयकोष स्थापना गर्ने सम्पूर्ण दाताप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
















