
हठी शासकको पतन : अब सुध्रिनैपर्छ राजनीति
एउटा हठी, दम्भी, हत्यारा र निरंकुश शासकको अन्त्य भएको छ । यो घटना आकस्मिक होइन, आवश्यक थियो । वर्षौंदेखि अन्याय, अत्याचार, कुशासन र भ्रष्टाचारबाट आजित बनेका नागरिकहरू जब सडकमै उत्रिए, तब त्यो व्यवस्थाले टिक्ने आधार हराइसकेको थियो ।
यो आन्दोलन अपरिहार्य थियो । जनताद्वारा थिचोमिचोको विरुद्ध उठेको आवाज थियो, जुन दबाउन खोजियो, तर सफल हुन सकेन । जनशक्ति सबैभन्दा बलियो हुन्छ र यसपटक पनि त्यही भयो ।
आन्दोलनको उज्यालो र त्यसमा परेको कालो धब्बा :
यद्यपि, आन्दोलनको नाममा भएका केही आपराधिक गतिविधिहरू आगजनी, तोडफोड, लुटपाट पूर्ण रूपमा निन्दनीय छन् । ती कार्यहरूले जनभावनामा आघात पुगेको छ र आन्दोलनको नैतिक उच्चतामा केही प्रश्न पनि उठेका छन् ।
तर मूल विषय नबिर्सौं । जनताको पीडा, आक्रोश र चाहनाको सम्मान नगर्ने शासक नै यस घटनाक्रमको प्रमुख दोषी हो ।
पाखण्डको राजनीति : चुप लाग्नेहरू आज ठूलो बोल्दै छन् :
आज आश्चर्य लाग्छ, ती ‘बुद्धिजीवी’ र नेताहरू जो १९/२० जना कलिला युवाहरूको हत्यामा पनि चुप थिए, आज संविधान, सुशासन र लोकतन्त्रका प्रवक्ता बनेर विज्ञप्ति निकाल्दै छन्, भाषण दिँदै छन् ।
शासकका हरेक अन्यायमा ‘जी, हा, हजुरी’ गर्ने उनीहरुकै मौन समर्थनले शासनलाई मत्त बनायो, अन्धो बनायो । त्यसकै परिणाम हो आजको संकट । यो सच्चाइलाई स्वीकार नगरी “हामी त सधैँ लोकतन्त्रकै पक्षमा थियौँ” भन्नु भनेको पाखण्ड मात्र हो ।
अबको बाटो : सुधार, संस्कार र सजगता :
राजनीतिमा “समाप्त” भन्ने शब्द हुँदैन। परिवर्तन सधैँ सम्भव छ, तर सुधारको विकल्प छैन ।
अब बन्ने अन्तरिम सरकारलाई जनताको साथ मिल्नुपर्छ र जनताको इच्छाअनुसार काम गर्नुपर्छ । यो सरकारले शान्ति, सुव्यवस्था र भ्रष्टाचारमुक्त शासन दिन नसकेमा जनताले फेरि आवाज उठाउनेछन् ।
जनता अब सचेत छन् । उनीहरूलाई मूर्ख बनाउन सकिने दिन गइसके । त्यसैले राजनीतिज्ञहरूले अबको यात्रा संस्कारयुक्त राजनीति बाट सुरु गर्नुपर्छ – बिनास्वार्थ, बिनाचाकरी, र बिनालालच ।
सुझाव :
धमिलो पानीमा माछा मार्ने दाउमा नलगौँ । जनताको भावना खेलौना होइन । तपाईंहरूलाई जनताले अझै पनि मौका दिइरहेका छन् तर त्यो मौका गुमाउनु भयो भने, यो पुस्ताले इतिहासमै तपाईंहरूको ठाउँ लेखिदिनेछ ।
✍️ अनिल पाण्डेय (शिक्षक)
पुनर्वास-१, कञ्चनपुर















