
“जेनजी” आन्दोलन : सडकबाट सुरुवात संसदसम्म आक्रमण
पुनर्वास -एशिया महादेशको सानो तर साहसी देश नेपालमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनले सम्पूर्ण सत्ता संरचना हल्लाइदियो। जेनेरेसन–जेडको नेतृत्वमा सुरु भएको यो आन्दोलन शान्तिपूर्ण र्यालीबाट प्रारम्भ भए पनि चाँडै नै हिंसात्मक रूप लिँदै देशभरि फैलियो।
यी दुई दिनमा दर्जनौँ नागरिकले ज्यान गुमाए भने सयौँ घाइते भए। राजधानीदेखि गाउँसम्मका अस्पतालहरू घाइतेले भरिए। सडकमा रगत र आक्रोश दुवै मिसिएका थिए। प्रहरी र आन्दोलनकारीबीच निरन्तर भिडन्त हुँदा शहरदेखि गाउँसम्म त्रास फैलियो।
आक्रोशित भीडले नेताका घर छानी–छानी जलाए। नगरपालिकादेखि केन्द्रसम्मका सरकारी भवन र गाडीहरू आगोको लप्कामा ध्वस्त भए। सहरमा धुवाँमय दृश्य छरपष्ट थियो। आन्दोलनकारीहरूको मुखबाट उठेका नारा अत्यन्तै तीखा थिए—
“केपी चोर, देश छोड !”
“सामाजिक सञ्जाल खुला गर !”
“भ्रष्टाचार बन्द गर !”
“प्रहरी दमन बन्द गर !”
यी नाराले आन्दोलनको स्वरूप र जनताको माग स्पष्ट रूपमा देखाए।
आन्दोलनको दबाब असह्य भएपछि प्रधानमन्त्री स्वयंले पदत्याग गरे। साथै केही नगर प्रमुख र वडा अध्यक्षहरूले समेत राजीनामा दिए। यस घटनाले पुरानो सत्ता संरचनाको आधार हल्लिएको प्रष्ट संकेत दिएको छ।
आन्दोलनपछिको राजनीतिक अनिश्चिततामध्ये अहिले नेपाली सेनाले केही समयसम्म देश सम्हाल्ने संकेत देखिएको छ। तर, सेनाको नेतृत्वमुनि मात्रै होइन, Gen-Z युवाहरूको सक्रिय सहभागिता पनि महत्त्वपूर्ण बन्न थालेको छ।
हाल सेना र आन्दोलनमा अगाडि रहेका युवाबीच “देशको अन्तिरम संविधान निर्माण गर्ने नेतृत्व कसरी तय गर्ने” भन्ने विषयमा छलफल भइरहेका छन्। यसले नेपाल नयाँ संवैधानिक यात्रातर्फ मोडिने प्रारम्भिक सङ्केत देखाएको छ।
यी दुई दिनले नेपाली जनताको मनमा साहस र आत्मविश्वास जगायो। अब यो आन्दोलन केवल क्षणिक विरोध मात्र नभई भविष्यको दिशा मोड्ने ऐतिहासिक संघर्षको रूपमा चिनिन थालेको छ। धेरैले यसलाई नयाँ युगको शुरुवातका रूपमा व्याख्या गरिरहेका छन्।















